Nepal's First Video FM

पूर्वराजा ज्ञानेन्द्रले दसैंको टीका नलगाइदिने

450

पूर्व राजा ज्ञानेन्द्र शाहले यो वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन्।

कोरोना (कोभिड १९) महामारीका कारण उत्पत्न असहज परिस्थितिका कारण महाअष्टमीका दिन विभिन्न शक्तिपीठमा दर्शन गर्ने कार्यक्रम पनि स्थगित गरिएको शाहका प्रेस सल्लाहकार मणि थापाले जानकारी दिए।

पूर्वराजा सहयोगी फणिराज पाठकका अनुसार यस वर्ष कोरोना भाइरसका कारण पूर्वराजा ज्ञानेन्द्रले शालीन र सादगी रुपमा दसैं मनाउने तयारी गरेका छन् । जस अनुसार विजयनदशमीको दिन सर्वसाधारणलाई टीका नलगाउने र अष्टमीको दिन शक्तिपीठमा पनि नजाने निर्णय गरेका छन् । यसअघि पूर्व राजा शाहले महाअष्टमीका दिन विभिन्न शक्तिपीठको दर्शन गर्ने गरेका थिए भने दसैंमा सर्वसाधारणलाई टीका समेत लगाइदिने गरेका थिए।

पाठकले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मौसुफबाट यस वर्ष महाअष्टमीका दिन विभिन्न शक्तिपीठहरुमा दर्शन गरिबक्सने कार्यक्रम र विजया दशमीका दिनमा टीका बक्सने कार्यक्रम नहुने व्यहोरा जानकारी गराइन्छ ।’

यस्तै कोरोना भाइरसको महामारीका कारण राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् । राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयले त्यस्तो औपचारिक घोषणा गर्न बाँकी छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसका कारण सर्वसाधारणलाई टीका नलगाउने तयारी गरिरहेको शीतलनिवासले जनाएको छ । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले कोरोना भाइरसका कारण राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाउने बारे अन्योल रहेको बताए ।

‘वर्तमान अवस्थालाई हेर्दा टीका लगाउनु चुनौतीपूर्ण देखिएको छ ।’ राष्ट्रपतिका स्वकीय सचिव अधिकारीले अनलाइनखबरसँग भने ‘टीकाको केही दिन औपचारिक रुपमा सूचना जारी गरी यसको जानकारी दिने तयारीमा छौं, तर टीका लगाउने सम्भावना कम छ ।’
प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने तयारी गरेका छन् । कोरोना भाइरसका कारण सामाजिक दुरी कायम गर्नुपर्ने भएकोले यो वर्ष सर्वसाधारणलाई टीका लगाउने तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।

You might also like

Comments are closed.