काठमाडौं । अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूविरुद्ध संसदीय सुनुवाई समितिमा उजुरी परेका छन् । अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडा र बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीविरुद्ध गम्भीर प्रकृतिका उजुरी परेको संसदीय सुनुवाइ समितिले जानकारी दिएको छ ।
अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतविरुद्धका उजुरी संसदीय सुनुवाइ समितिले आज खोलेको हो । १० दिनको म्याद दिएर सार्वजनिक उजुरी आह्वान गरेको समितिले दुईजनाविरुद्धमा परेका ४ उजुरी खोलेको हो ।
संसदीय सुनुवाइ समिति स्रोतका अनुसार प्रस्तावित राजदूतहरू खतिवडा र रेग्मीविरुद्ध अनियमितता, कार्यसम्पादन, नीतिगत भ्रष्टाचार लगायतका विषयमा उजुरी परेका छन् ।
खतिवडाविरुद्ध परेका उजुरीमा राष्ट्र बैंकको गभर्नरदेखि योजना आयोगको नेतृत्वमा रहँदासम्मका विषय जोडिएका बताइएको छ । त्यस्तै, टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलसँगको कर विवादसँग जोडेर पनि उनीविरुद्ध उजुरी परेको छ ।
मुख्यसचिवबाट राजीनामा दिएकै दिन बेलायतका लागि राजदूतमा सिफारिस भएका लोकदर्शन रेग्मीविरुद्ध पनि विभिन्न समयमा गरेका कामलाई आधार बनाएर उजुरी परेको बताइएको छ ।
संसदीय समितिमा परेको उजुरीमा उहाँले नापीको कर्मचारीलाई भौतिक पूर्वाधार मन्त्रालयको सचिव बनाएको, अर्थमन्त्रालय र गृहमन्त्रालयमा सचिव हुँदा अवैधानिक रूपबाट कर्मचारीबाट रकम असुल गरेको भन्ने आरोपसहितका उजुरी परेका छन् ।
संसदीय सुनुवाइ समितिमा कांग्रेसकी सांसद पुष्पा भुसालले १७ गतेका लागि उजुरीकर्ताहरूलाई बोलाउने निर्णय गरिएको जानकारी दिनुभयो ।
Comments are closed.