काठमाडौं, ५ कार्तिक ।गायक राजनराज सिवाकोटी र गायिका एलिना चौहानको स्वरमा ‘जाउँ माया जाउँ’ सार्वजनिक भएको छ । गीतमा राजनराजकै शब्द तथा संगीत छ ।
यो गीतको भिडियोमा नायिका आँचल शर्माको साथमा मोडल जीपी शाह र हर्ष तण्डुकारलाई देख्न सकिन्छ । नितिन चन्दले निर्देशन गरेको भिडियोमा विशाल महराको कोरियोग्राफी छ ।
यस्तै कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले लकडाउन घोषणा गरेपछि अभिनेता पुष्प खड्का करीब ६ महिना फिल्म र म्यूजिक भिडियोको काम रोकिँदा फुर्सदिला भए । लकडाउनमा उनको दैनिकी घरभित्रै वित्यो । निषेधाज्ञा खुकुलो भएपछि लगातार म्यूजिक भिडियोमा काम गरिरहेका उनले लकडाउनभन्दा अगाडि फिल्म ‘चालबाज’ को छायांकन सकाएका थिए ।
लकडाउनको समयमा आधा दर्जन बढी फिल्मको स्क्रिप्ट पढेका उनले गएको महिना ‘पण्डित बाजेको लौरी’ फेम्ड निर्देशक दीपक ओलीले निर्देशन गर्ने फिल्म ‘कृष्ण लीला’ साइन गरे । यसमा उनको जोडी अभिनेत्री दीपिका प्रसाईंसँग बाँधिदैछ । दशैंपछि फिल्मको छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ । योसँगै पुष्पले केही दिन अगाडि अर्को फिल्म पनि साइन गरेका छन् ।
‘लप्पन छप्पन’ निर्देशक मुकुन्द भट्टले नयाँ फिल्ममा पुष्पलाई मुख्य अभिनेताको रुपमा अनुबन्ध गरेका हुन् । एक्सन जनरामा निर्माण हुने फिल्मको आउँदो चैतबाट छायांकन सुरु गरिने निर्देशक भट्टले जानकारी दिए । कथाले मागे अनुसार बडी स्ट्रक्चर र लुक्स सुहाउने भएकाले पुष्पलाई रोजिएको उनको भनाई छ । दशैंपछि पुष्पले फिल्मका लागि ६ महिना एक्सन ट्रेनिङ लिनेछन् ।
अभिनेता खड्का पहिलो पटक पूर्ण एक्सन अवतारमा प्रस्तुत हुन लागेका हुन् । फिल्म ‘मारुनी’ मा उनको छोटो एक्सन दृश्यलाई दर्शकहरुले निकै रुचाएका थिए । आफूलाई एक्सन फिल्ममा काम गर्न मनपर्ने बताउने पुष्पले ‘कृष्ण लीला’ पछि निर्देशक भट्टको फिल्मलाई समय छुट्याउनेछन् । लभर ब्वाईको भूमिकामा रुचाइएका उनलाई एक्सन अवतारमा हेर्न निकै रोचक हुने देखिन्छ ।
फिल्मको स्क्रिप्ट निर्देशक भट्ट र टिम योगीले तयार पारेका छन् । मुकुन्दले निर्देशन गरेको नयाँ फिल्म ‘लप्पन छप्पन २’ प्रदर्शनको पखाईमा छ । कोरोनाका कारण प्रदर्शनमा आउन नसकेको यो फिल्मलाई यसै वर्षको शिवरात्रीमा प्रदर्शन गर्ने तयारी गरिएको छ । सौगात मल्ल, शिव श्रेष्ठलगायतको अभिनय रहेको फिल्मको टिजरमा समावेश एक्सन दृश्यलाई दर्शकहरुले निकै रुचाएका छन् ।
Comments are closed.