६ कात्तिक, काठमाडौं । पूर्वराजा ज्ञानेन्द शाहले राज्य कमजोर हुँदा नेपाली जनता टुहुरा, अभिभावकविहीन भएको बताएका छन्। उनले संकटको अहिलेको समयमा अभिभावकले खेल्नुपर्ने भूमिका नेतृत्वले नखेलेको बताउँदै नेपाली जनता अभिभावकबिहीन बनेकामा पीडाबोध भएको बताएका हुन्।
दसैंको अवसरमा शुभकामना सन्देश दिँदै उनले जिम्मेवार पक्षबाट जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत नहुँदा जनताको दैनिकी कष्टकर बन्दै गएको बताएका छन् । संकटको घडीमा अभिभावकको क्षमता र हैसियत प्रष्ट हुन्छ भन्ने आम मान्यता रहेको भन्दै उनले भनेका छन्, ‘यस आधारमा हेर्दा नेपाली जनता अभिभावकविहीन बनेको पीडाबोध यतिबेला हुँदैछ ।’
प्राकृतिक विपत्ति मानव वशको कुरा नभएको हामी सबैले बुझेका छौं भन्दै पूर्वराजा शाहले विपत्तिसँग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत नभएको उल्लेख गर्नुभएको छ ।
जनता बचाउन सके मात्र राजनीति र राज्य बच्ने चेतावनी दिँदै पूर्वराजा शाहले भन्नुभएको छ, ‘आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको छ, जनतालाई बचाउन सकेमात्र राज्य बच्ने र राज्य रहेमात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनुपर्छ ।’
विदेशमा गएर रोजगारीमा लागेकाहरू संकटमा छन् भन्दै शाहले देशभित्र उनीहरूको श्रम, सीप र सामर्थ्यको सदुपयोग गर्ने कुनै बन्दोबस्त नभएको आरोप पनि लगाउनु भएको छ । ‘त्यसैले, देश, समाज र परिवारको मोह ममताले आएकाहरू पनि फेरि कामका लागि विदेशतिरै लर्को लागेको मार्मिक अवस्था देखिन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।
राहत, रोजगार र रोगको उपचार खोज्दै भौंतारिका जनसमूहलाई भरपर्दो आड आधारको आवश्यकता महशुस गराउन नसकिएकामा चिन्तित पूर्वराजा शाहले दैनिक जिविकाको अत्यावश्यक वस्तुको मूल्यवृद्धि, अभाव र गुणस्तरीयतामा ह्रासजस्ता विषयले जनजीवन पिरोलिएको पनि बताउनुभएको छ ।
वर्तमान परिस्थितिप्रति कटाक्ष गर्दै शाहले लेख्नुभएको छ, ‘समाजमा अनेक आपराधिक गतिविधि र पिशाच प्रवृत्ति बढ्दो छ, यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको छ, आज सबैले बढ्दो आशुरी र भष्मासुरी प्रवृत्तिबाट जनताले उन्मुक्ति चाहिरहेका छन् ।’
‘नेपाललाई चिनौं, नेपालीलाई बुझौं, नेपाली भएर बाँचौं अनि नेपाल र नेपालीको निम्ति सोचौं’ भन्दै नेपालकै हितका खातिर र नेपाली शैली अंगालेर उज्यालो बाटोतिर लैजाऔं भनेर आग्रह गर्दै आएको पनि उहाँले उल्लेख गर्नुभएको छ ।
Comments are closed.