काठमाडौं,१० कात्तिक । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ ।
आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ । जमराले विभिन्न रोगव्याधिमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले जमराको रस सेवन गर्नाले रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सकको भनाइ छ ।
घटस्थापनामा स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशैंकै सबैभन्दा महत्वपूर्ण दिन हो ।
यस्तै आज दशैंको मुख्य दिन, मान्यजनबाट टीका र जमरा लगाएर मनाइँदै छ । तर टीका लगाउँदा कुन दिशामा फर्किएर बस्ने भन्ने चाहिँ धेरैलाई थाहा नहुन सक्छ । भनिन्छ, टीका लगाउँदा चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुन्छ । त्यसैले आज विजयादशमीको दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्छ र टीका लगाइदिने व्यक्ति पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ ।
यसो गर्दा टीका लगाइदिने व्यक्तिको दायाँतर्फ चन्द्रमा पर्छ भने टीका लगाइमाग्ने व्यक्तिको सम्मुख पर्छ । यसरी बसेर टीका लगाउँदा शुभ हुने धार्मिक विश्वास छ । आज टीकाको उत्तम साइत १० बजेर १९ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेंलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ ।
गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।
Comments are closed.