Nepal's First Video FM

ग्राण्डी अस्पतालको चरम लापर्बाहीको कारण , एक युवाको ज्या”न यसरी लिइयो

415

काठमाडौं, । काठमाडौंको टोखास्थित ग्राण्डी अस्पतालले पैसा असुल्नकै लागि कोरोना संक्रमण नभएका विरामीलाई समेत कोरोना भएको बताउँदै आईसीयूमा भर्ना गर्ने गरेको गुनासो तीब्र रुपमा आउन थालेको छ ।

यसैबीच विगत १८ दिन अगाडि मात्रै बौद्ध (जोरपाटी)का पुष्प सुनार (रसाइली)लाई निमोनिया भएर ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । तर, कोरोना भाइरसको संक्रमण नै नभएका उनलाई ग्राण्डी अस्पतालका डाक्टरहरुले कोरोना भएको भन्दै इमर्जेन्सी वार्ड हुँदै आईसीयूमा लगेको पुष्प सुनार (रसाइली)का दाई चित्रबहादुर रसाइलीले बताए ।

उनले आफ्नो फेसबुक पेजमा स्टाटस राख्दै भनेका छन्, ‘इमर्जेन्सी वार्डबाट हतार–हतार आईसीयूमा सार्न लाग्दा मेरो भाईको राम्रोसँग होस खुलिसकेको थियो । मेरो भाईले आईसीयूमा नलैजाउ, त्यहाँ मलाई मार्छन्, म बाँच्न सक्दिन भनेर कराउँदै गर्दा डाकटरहरुले जबरजस्ती बेहोस् हुने सुई लगाएर आईसीयूमा लगे ।’

भाईलाई आईसीयूमा लगिसकेपछि डाक्टरहरुले कसैलाई भेट्न नदिएको पनि दाई चित्रबहादुर रसाइलीको गुनासो छ । उनले भने, ‘त्यसपछि हामीसँग दैनिक रु ५०,०००/– का दरले पैसा मागे । हामीले डाक्टरहरुको भनाइ अनुसार नै पैसा जम्मा गर्दै लग्यौं । विरामीको अवस्था के कस्तो छ ? भनेर बुझ्दा कोरोना पोजेटिभ भएको छ, धेरै क्रिटिकल अवस्था छ, भन्दै एक सातासम्म पैसा जम्मा गर्न लगायो ।’

उनले थपे, ‘पछिल्लो एक सातायता भने दैनिक तीन लाखका दरले पैसा डिपोजिट गर्न लगायो । त्यसपछि फूलपातीको अघिल्लो दिन डाक्टरहरुले हामीलाई बोलाएर दुनियाभरको काउन्सेलिङ गर्न थाले । त्यसपछि मलाई शंका लाग्यो र भाईलाई भेट्न जान्छु भन्दा डाक्टरहरु एकछिन अल्मलिए ।’

त्यसको केही बेरपछि आफैले रिस्क मोलेर भाईलाई भेट्नसक्ने डाक्टरहरुले बताएको बताउँदै उनले भने, ‘तपाईले भाइको मुख हेर्न पाउनुहुन्न । हामीले ट्रिटमेन्ट गर्दै जाँदा घोप्टो पार्नुपर्ने भएर घोप्को पारेर राखेका छौं । तपाईंले पछाडि ढाड पट्टी मात्रै देख्न सक्नुहुन्छ, भने ।’

त्यसपछि आफूले फर्काउन मिल्छ होलानी भनेर सोध्दा दायाँबायाँ कतै पनि फर्काउन नमिल्ने डाक्टरहरुले बताएको उनले गुनासो गरे । त्यस्तै, भाईबुहारी र फुपुका छोराले समेत त्यहाँ जान रिस्क हुने र डाक्टरहरुले हेरिहाल्छन् भनेपछि आफूले भाईलाई हेर्न जान नसकेको उनले आफ्नो स्टाटसमा उल्लेख गरेका छन् ।

साथमा डाक्टरहरुलेसमेत भाईको अन्तिम अवस्था भएको र थप २४ घण्टा प्रयास गर्ने आश्वासन पनि दिएको पनि बताएका छन् । उनले अगाडि लेखेका छन्, ‘त्यो दिन घर आइपुग्नासाथ डाक्टरहरुले भाई बुहारीलाई थप ८ लाख लाग्ने बताएका रहेछन् । तर, भाईबुहारीले नसकिने बताएपछि हिजो फूलपातीका दिन दिउँसो २ बजे अस्पतालले मृत घोषणा गरिदियो ।’

अस्पतालले भाईलाई मृत घोषणा गरिसकेपछि आफूहरु सबै पालैपालो टाढैबाट हेर्न गएको र शव भने नेपाली सेनाले व्यवस्थापन गर्ने बताएको दाई चित्रबहादुरले बताए ।

उनले फेरि भने, ‘हामी आर्मी आउने प्रतीक्षामा बस्यौं । तर, मृत घोषणा गरेको चार घन्टापछि डाक्टर ढोकाबाट बाहिर आएर भने, ‘ल तपाईहरुलाई एउटा खुसीको खबर, तपाईको बिरालीलाई कोरोना नभएको रिपोर्ट आयो । तपाईहरुले बाँकी पैसा तिरेर शव लान सक्नुहुन्छ ।’

त्यसपछि आफूहरु आक्रोशित भएर भाईलाई कोरोना नभएको भए किन यति धेरै खर्च गराइयो ? भाईलाई किन मारियो ? भनेर प्रश्न गर्दा अस्पताल पक्षबाट चित्तबुझ्दो जवाफ नपाएको कारण अझैं पनि भाईको शव नबुझेको उनले फेसबुकमा लेखेका छन् ।

यस विषयमा अब पीडित पक्षले मेडिकल काउन्सिलमा गएर मुद्दा हाल्ने बताएका छन् । साथै, सामाजिक सञ्जालमार्फत् अन्यायमा परेका पीडितलाई साथ दिन भन्दै अपील गरिएको छ ।

उनीहरुले ग्राण्डी अस्पतालको ज्यान मार्ने धन्दा बन्द हुनुपर्ने माग पनि गरेका छन् । यस विषयमा ग्राण्डी अस्पताल प्रशासनको ध्यानाकर्षण गराउँदा कुनै जवाफ दिन चाहेन ।
हेर्नुहोस् फेसबुक स्टाटस

You might also like

Comments are closed.