काठमाडौं, कार्तिक । नेपालीहरुको महान चाड मध्ये एक हो, विजया दशमी हो । जब दशैं आउँछ तब नेपाली फिल्म ‘मुग्लान’ मा समावेश गीत सर्वाधिक घन्किने गरेको छ । यो गीतले हरेक नेपालीलाई दशैं सम्झाउँछ, दशैं आएको अनुभूति गराउँछ । जब दशैं नजिकिँदै जान्छ तब घर-गाउँ, शहर-बजार जताततै यही गीतमात्र बज्ने गरेको छ । यस्तै गायक योगेश्वर अमात्यको स्वर रहेको ‘दसैँ नै हो कि यो मरो दशा’ पनि दसैँको बेलामा खुब बज्ने गित हो ।
यसपाली पनि घटस्थापनादेखि नै यी गीतहरु सर्वाधिक घन्किँदै आएको छ । त्यसो त हरेक वर्ष दशैंलाई लक्षित गरेर नयाँ गीत सार्वजनिक हुने गरेका छन् । तर, कमै दर्शकको जिब्रोमा झुण्डिएका छन् । विभिन्न समयमा नेपाली फिल्ममा कथाको मागअनुसार दशैं गीत समावेश गरिएको छ । यो प्याकेजमा हामी तपाईँहरुलाई दशैंको बारेमा गाइएका केहि गीतहरु प्रस्तुत गर्दैछौँ । तपाई को मनोरन्जन को लागी ……..
१. धानकै बाला………….’
सशस्त्र प्रहरी बल (एपीएफ)ले निर्माण गरेको यो गीत पनि हरेक वर्षको दसैँमा धेरै बज्ने गर्छ । गीत जयनन्द लामाले गाउनु भएको हो । गीतमा लामाकै शब्द तथा सङ्गीत रहेको छ । गायिकामा लामालाई बलराम कार्की, सरिता लामा र बाबा बस्नेतले साथ दिएका छन् । एपीएफले यही गीतको भाकालाई दसैँ विशेष शब्दको मिश्रण गरेर केही परिमार्जनसहित प्रस्तुत गरेको हो । यो गीत पनि हरेक दसैँमा राष्ट्रसेवक कर्मचारीले मात्रै होइन तिनका परिवारले समेत सम्झने गर्दछन् ।
२. ‘दशैं आयो…’
दशैंको बारेमा गाइएको सबैभन्दा लोकप्रिय गीतमा ‘दशैं आयो..’ नै पर्छ । स्वर्गीय शिव रेग्मी निर्देशित फिल्म ‘मुग्लान’ मा समावेश यस गीतमा परदेश गएको छोरा घर आएको, छोराको बाटो हेर्ने आमाको वर्णन, जमरा र रातो टीका, गाउँघरमा पिङ खेलेका कुरा गरिएको छ । दीलिप रायमाझी, सुशील क्षेत्री, विपना थापा, झरना थापा यो गीतमा देखिएका छन् ।
गीतमा उदित नारायण झा, दीपा नारायण झा, नारायण लामा र जुना प्रसाईंको संयुक्त गायन छ । सुरेश अधिकारीको संगीत रहेको गीतका सर्जक लोकनाथ सापकोटा हुन् । अमुल कार्कीको गीतमा एरेञ्ज छ । धन कमाउन परदेश गएका युवाहरुको कथा भन्ने फिल्ममा यो गीत कथावाचनको रुपमा राखिएको छ । फिल्ममा यो गीत आउँदा जो कोहीको मन भारी हुन्छ ।
३. ‘रातो टीका निधारमा टलक्क टल्कियो…’
दशैं आएको अनुभूति गराउने अर्को गीत हो, ‘रातो टीका निधारमा टलक्क टल्कियो’ । यो दुई दशक अगाडि प्रदर्शनमा आएको फिल्म ‘अल्लारे’ को गीत हो । फिल्मलाई अशोक शर्माले निर्देशन गरेका थिए । अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर गीतमा प्रस्तुत छन् । सहदेव ढुंगानाको शब्द रहेको गीतमा उमेश पाण्डे र रमना श्रेष्ठको स्वर छ । शम्भुजित बाँस्कोटाले गीतमा संगीत भरेका छन् ।
उक्त गीतको रिमेक भर्सन पनि सार्वजनिक भइसकेको छ । गएको असोज १० गतेबाट प्रदर्शनमा आएको फिल्म ‘रातो टीका निधारमा’ मा रि-एरेञ्ज गरेर समावेश गरिएको यो गीतमा प्रमोद खरेल र मेलिना राईको स्वर छ । गीतको भिडियोमा फिल्मका अभिनेता अंकित शर्मा र अभिनेत्री साम्रात्री आरएल शाह फिचर्ड छन् । रि-एरेञ्ज गरिएको गीतलाई पनि दर्शकले निकै रुचाएका छन् ।
४. ‘रातो टीका दशैंको जमरा…’
दशैंमा बज्ने सदाबहार गीतमध्येको एक हो, ‘रातो टीका दशैंको जमरा’ । यो गीत डेढ दशक अगाडिको सुपरहिट फिल्म ‘मनमन्दिर’ मा समावेश छ । युवराज लामा निर्देशित फिल्मको यस गीतमा अभिनेता राजेश हमाल र अभिनेत्री निरुता सिंह देखिएका छन् । रोमान्टिक भावको यो गीतले पनि दशैं आएको अनुभूति गराउँछ । गीतमा राजेश हमाल निरुताको दिलको कोठामा डेरा सर्ने कुरा गर्दैछन् ।
५. ‘यसपाली पनि परदेशमै वित्ने भो दशैं तिहार…’
परदेशीको पीडा बोल्ने यो गीत फिल्म ‘देशदेखि विदेशसम्म’ को हो । दशैंबारे गाइएको यो सदाबहार गीतमा विदेशमा बसेका नेपालीहरुले दशैं मनाएको र दशैंमा नेपाल सम्झेका पलहरुलाई उनिएको छ । गीतमा रामकृष्ण ढकालको स्वर छ । निकै मार्मिक यस गीतमा अभिनेता निखिल उप्रेतीलगायतका कलाकारहरुको अभिनय छ । फिल्मका निर्देशक भने नरेन्द्र थापा हुन् ।
६. दसैँ नै हो कि …….’
गायक योगेश्वर अमात्यको स्वर रहेको ‘दसैँ नै हो कि यो मरो दशा’ बोलको गीतले हरेक वर्षको दसैँमा चारैतिर प्राथमिकता पाउने गरेको छ । सञ्चार माध्यममा समेत धेरै बज्ने यो गीत पप रक शैलीमा तयार गरिएको छ ।
बालबच्चादेखि बुढापाकासम्मले यो गीतलाई रुचाएको पाइन्छ । प्रायः बुढापाकाहरुले पप रक शैलीका गीतहरु मन पराउँदैनन् । तर यो गीतमा भएका शब्दले उनीहरुलाई समेत तानेको छ ।
७. फौजीलाई कुन हो दसैँ …………..’
सशस्त्र प्रहरी बल (एपीएफ)ले निर्माण गरेको यो गीत पनि हरेक वर्षको दसैँमा अत्यधिक गुन्जिने गीतहरुको सूचीमा पर्दछ । दीपक कोइरालाको शब्द, गैरे सुरेशको सङ्गीत तथा जगदीश समालको स्वर रहेको यो गीत राष्ट्रसेवक कर्मचारीप्रति पूर्णरुपमा समर्पित छ । गीत एपीएफले निर्माण गरेको हो ।
८. दसैँ तिहार ……….’
गायक सुगम पोखरेलको ‘दसैँ तिहार’ बोलको गीत पनि दसैँमा धेरै बज्ने गर्दछ । गीतमा रवि श्रेष्ठको शब्द र गायक पोखरेलकै सङ्गीत रहेको छ । गीतको भिडियो पनि बनेको भिडियोमा निरज, सञ्जीव, कुशल, अस्मिता, सुजित लगायतको अभिनय देख्न सकिन्छ । गीतमा दसैँ तिहार दुवैको विषय समेटिएको छ ।
Comments are closed.