विजया दशमीको चौथो दिन आज पनि मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउने क्रम जारी रहेको छ । आश्विन शुक्ल त्रयोदशीका दिन बिहीबार पनि मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी रहेको हो ।
घटस्थापनाका दिन दशैंघरमा विधिपूर्वक स्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको पूजाआराधना गरिएको टीका र प्रसाद अग्रजको हातबाट आशीर्वादका साथ ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहने गर्दछ ।
टाढा टाढा रहेका परिवारजन तथा आफन्तकहाँ टीका लगाउन जाने क्रम पूर्णीमाको दिनसम्मै जारी रहने गरेको हो । मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ ।
परिवारमा टीका लगाएपछि आफन्तजनसँग टीका लगाउन जाने परम्परा छ । यो क्रम पाँच दिनसम्म अर्थात् कोजाग्रत पूर्णिमासम्मै चल्ने गर्दछ । ठूलाले सानालाई टीका लगाई आशीर्वाद दिने दसैंलाई आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको कडीको रुपमा लिने गरिन्छ ।
Comments are closed.