काठमाडौं । चिसोसँगै कोरोना भाइरस र मौसमी फ्लूको सङ्क्रमण बढ्न सक्ने भएकाले सचेत हुन चिकित्सकहरुले सुझाव दिएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अपनाइएका स्वास्थ्य मापदण्ड निरन्तर लागू गर्न सकेमा मौसमी फ्लूलगायतका सरुवा रोगबाट पनि जोगिन सकिने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताउनुभयो ।
उहाँका अनुसार चिसो बढेसँगै मौसमी फ्लू, बालबालिकामा रोटा भाइरस र वयस्कमा कोरोना भाइरसको सङ्क्रमण देखिन सुरु हुन्छ । यो वर्ष मौसमी फ्लूका बिरामी पोहोर परारको तुलनामा कम देखिएका छन् । सामान्यतया भदौ मध्यदेखि नेपालमा मौसमी फ्लूका बिरामी भेटिने गरेकोमा यसवर्ष कोरोना भाइरसको सङ्क्रमण भएका धेरै बिरामी भेटिएका छन् । मौसमी फ्लूका बिरामी फाट्टफुट्ट मात्रै भेटिएका छन् ।
चिसो बढ्दै गएपछि समूहमा बस्दा मौसमी फ्लू र कोरोना भाइरस झनै फैलने जोखिम रहेकाले सकेसम्म समूहमा नबस्न, अनिवार्य मास्क लगाउन, बेलाबेला साबुनपानीले मिचिमिची हात धुन, हात धुने अवस्था नभए स्यानिटाइजर लगाउन र व्यक्तिगत दूरी कायम गर्नेलगायतका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न डाक्टर पुनको सुझाव छ ।
यस्तै तातो झोलिलो खानेकुरा खाने, बाहिरका खानेकुरा नखाने र सरसफाईमा ख्याल गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ ।
यसै बीच काठमाडौं जिल्लामा हालसम्म ५९ हजार २ सय ४७ जना कोरोना संक्रमित भएका छन् ।त्यसमध्ये ४२ हजार ५ सय ४ जना कोरोना संक्रमण निको भई घर फर्किसकेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल काठमाडौंमा १६ हजार ५ सय २१ जना संक्रमितको उपचार भइरहेको छ भने कोरोना संंक्रमणबाट काठमाडौंमा २०९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै गरी १० हजार ५ सय १ जना होम आइसोलेशनमा बसेका छन् ।
देशभर संक्रिय संक्रमितको सख्या ३८ हजार ९ सय ५२ रहेको छ । भेन्टिलेटरमा ७६ जनाको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी आईसीयुमा ३०४ जनाको उपचार भइरहेको छ ।
काठमाडौं उपत्यकामा आज एकै दिन १६ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । देशभर २३ सय ६४ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १६ सय १५ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचनामार्फत ९ हजार ७ सय ६९ जनाको पिसीआर परिक्षणमा २३ सय ६४ जनाको रिपोर्ट पोजेटिभ आएको जानकारी दिएको हो ।
त्यसैगरी आज २४ घन्टामा ३०३८ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १ लाख २४ हजार ८ सय ६२ रहेको छ देशभर कुल संक्रमितको सख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ । हालसम्म काठमाडौं उपत्यकामा थपिएका मध्ये महिला २१ हजार ९ सय ६ र पुरुष ३७ हजार ३ सय ४० रहेका छन् ।
Comments are closed.