Nepal's First Video FM

देहरादूनमा विद्यार्थी कुटिएको घटनालाई गम्भीरतापूर्वक लिन कांग्रेसको आग्रह

280

काठमाडौँ। नेपाली कांग्रेसले भारतको देहरादूनमा नेपाली विद्यार्थी कुटिएको घटनालाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरेको छ। यससँगै नेपाली कांग्रेसले पीडित विद्यार्थीको अविलम्ब उद्धार गर्न पनि माग गरेको छ।

एक देशका विद्यार्थी अर्को देशमा पढ्न जाने विषय सामान्य कुरा भएको र जो जहाँ पढिरहे पनि सुरक्षित र निर्भिक वातावरण प्राप्त गर्नु उनीहरूको अधिकार मात्रै नभई त्यसको सुनिश्चितता गर्ने अभिभारा दुवै देशका सरकारहरूको रहेको पनि कांग्रेसले औँल्याएको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार एक प्रेस विज्ञप्तिमार्फत् कुनै पनि बहानामा नेपाली विद्यार्थी या अन्य कोही नेपाली नागरिक दुव्र्यवहार र आक्रमणमा पर्छन् भने त्यसलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिनुपर्ने उल्लेख गरेका छन्।

उनले भारतको देहरादूनमा विजया दशमीकै दिन दर्जनौँ नेपाली विद्यार्थीहरूमाथि भएको कुटपिटको घटनालाई गम्भीरतापूर्वक लिँदै घटनाबारे विरोध प्रकट गर्न पनि सरकारले आग्रह गरेका छन्।

उक्त विज्ञप्तिमा भनिएको छ, “नेपाली विद्यार्थीहरूको सुरक्षा र सम्मानबारे गम्भीर पहलकदमी गरेर आगामी दिनमा यस्ता घटना कहीँ पनि हुन नदिन आवश्यक सतर्कताका लागि सरकार समक्ष माग गर्दछौँ।”

You might also like

Comments are closed.