काठमाडौं, १३ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद फेरि सतहमा आउन थालेको छ । केन्द्रमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद प्रदेश हुँदै स्थानीय तहसम्म फैलिएको छ ।
ओली र प्रचण्डले सहमति बनाएर स्थायी कमिटीबाट पारित समेत गरेपनि फेरि विवाद बढेको हो । ओलीले मन्त्रिमण्डल पुर्नगठन र राजदूत नियुक्तिमा एकलौटी गरेको भन्दै प्रचण्ड असन्तुष्ट छन् । यो विवाद नमिल्दै कर्णाली प्रदेशमा मुख्यमन्त्री हटाउने खेल शुरु भयो । यसमा अझै निष्कर्ष निस्किएको छैन । अध्यक्षद्वय ओली र प्रचण्डको मुख्यमन्त्री र कर्णाली प्रदेश कमिटीलाई फरक फरक निर्देशन छ ।
स्थानीय तहमा पनि विवादहरु बढेको छ । पर्सामा एक हप्ता अघि नेकपा कार्यकर्ताबीच झडप भएको छ । घटनामा पर्सा जिल्ला कमिटी सदस्य मुकेश चौरसियाको मृत्यु भएको छ । घटनाको एक सातापछि जिल्ला न्यायाधिवक्ता कार्यालयको निर्देशनमा प्रहरीले जाहेरी दर्ता गर्न मानेको छ । पर्सा घटनाले स्थानीय तहमा ओली र प्रचण्ड पक्षधरबीच झडपको अवस्था विकास भएको छर्लङ्ग भएको छ ।
पार्टी विवाद बढ्दै जाँदा केन्द्रीय कमिटी बैठक अहिलेलाई स्थगित गरिएको छ । यसका लागि मनाउन महासचिव विष्णु पौडेल र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ खुमलटार पुगेर प्रचण्डसँग छलफल गरेका थिए । सहमतिको प्रयास खोज्न दोस्रो तहका नेताहरु सक्रिय भएका छन् । तर, यसपटक अवस्था वार पारमा पुगेको बुझिएको छ ।
यसैगरी, प्रचण्डसँग विवाद बढेपछि अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल बढाएका छन् । उनले दशैंको अघि र दशैंको समयमा दुईपटक बालुवाटारमा नेपालसँग छलफल गरेका छन् । पूर्व एमालेबीच एकता कायम गर जान ओलीले प्रस्ताव गरेको बुझिएको छ । तर, नेपालले भने समग्र पार्टीलाई एक बनाएर जानुपर्नेमा जोड दिएको विश्वस्त स्रोतले बताएको छ ।
नेपालसँग निकटता बढाउन खोज्ने ओलीको रणनीतिका रुपमा कतिपयको बुझाई छ । ओलीले विगतमा पनि कहिले प्रचण्ड त कहिले वामदेव गौतमको साथ लिएर संकटमोचन गरेका थिए ।
पछिल्लो घटनाक्रमले भने नेकपाभित्र कुनैपनि बेला दुर्घटनाको खतरा बढाएको छ । ओलीविरुद्ध प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ प्रकाश गरी पाँचजना सचिवालय सदस्यहरु एकढिक्का भएका छन् । यसैलाई दृष्टिगत गरी ओलीले विशेष रणनीति बनाएका छन् ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेको आरोप लगाएका छन्। बालुवाटारमा शनिबार दिउँसो कर्णाली प्रदेशका नेताहरूलाई बोलाएर छलफल गर्ने क्रममा प्रधानमन्त्री ओलीले दाहालमाथि त्यस्तो आरोप लगाएका हुन्।
‘एउटै पार्टीका नेताहरूलाई उहाँले बेग्लाबेग्लै भेट गर्नुभयो। समस्या हो, समस्या छ भने त्यसलाई सम्बोधन गर्न सामुन्नेमा राखेर छलफल गर्नुपर्छ। उहाँले त्यसो गर्नुभएन र आज यहाँ बोलाएको पनि आउनुभएन। यसले सन्देश राम्रो जाँदैन,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने, ‘विवाद समाधानका लागि आएका एउटै पार्टीका नेतालाई छुट्टाछुट्टै भेटघाट गर्दा छुट्टै पार्टी सञ्चालन गरेको आभास भयो। खैर केही छैन, हामी दुवैजना बस्छौं र तपाईंहरूको समस्यालाई समाधान गर्छौं।’ दाहालले बिहीबार र शुक्रबार बेग्लाबेग्लै समूहमा कर्णालीका नेताहरूसँग छलफल गरेका थिए। शनिबार ओलीले कर्णालीका नेताहरूसँग छलफल गर्ने क्रममा दाहाललाई पनि बालुवाटार बोलाएका थिए तर गएनन्। कर्णाली प्रदेशका इन्चार्ज जनाद्र्धन शर्मा पनि बालुवाटार छलफलमा सहभागी भएनन्।
Comments are closed.