१७ कात्तिक, बुटवल । पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा बुटवलमा ठूलो जनप्रदर्शन र र्याली निकालिएको छ । मुलुकमा राजनीतिक खिचातानी बढिरहेका बेला बीर गोर्खाली अभियानको आयोजनामा मोटरसाइकल र्याली निकालिएको हो ।
रुपन्देहीको मणिग्रामबाट निकालिएको र्यालीमा सयौं मोटरसाइकल सहभागी भएका थिए । पूर्वराजा ज्ञानेन्द्र र रानी कोमलको तस्बिर छापिएका टिसर्ट लगाएका युवाहरु राष्ट्रिय झण्डा बोकेर र्यालीमा सहभागी थिए ।
र्यालीमा करिब २ हजार मोटरसाइकल सहभागी रहेका आयोजकको दाबी छ । गणतन्त्र स्थापनापछि रुपन्देहीमा राजसंस्थाको पक्षमा भएको यो प्रदर्शन अहिलेसम्मकै ठूलो भएको बुटवल रामार्ग चौराहाका बासिन्दा कृष्ण श्रेष्ठले बताए ।
र्यालीपछि ट्राफिकचोकमा भएको कोणसभामा बोल्दै कार्यक्रम संयोजक बसन्तविक्रम पाण्डे, रुपन्देही संयोजक प्रवीन थापा, डिल्लीराज खनाललगायतले राष्ट्रिय एकता र स्थिरताका लागि राजसंस्था र हिन्दू राष्ट्र पुनः स्थापना आवश्यक रहेको तर्क गर्दै यसका लागि देशव्यापी अभियान सञ्चालन गरिने बताए ।
उनीहरुले दलको नेतृत्व असफल भएको, राष्ट्रियता कमजोर बनेको र भ्रष्टाचारले सीमा नाघेको आरोप लगाउँदै राजसंस्थाको पुनःस्थापनाबाट मात्रै देशले निकास पाउने दलिल गरेका थिए ।
Comments are closed.