Nepal's First Video FM

बंगलादेशले ५० हजार टन रासायनिक मल नदिने भएपछि जीटुजीमार्फत गरिद गर्ने तयारी

573

बंगलादेशले पैँचोमा दिने भनेको ५० हजार मेट्रिक टन रासायनिक मल नदिने भएपछि जीटुजीमार्फत मल खरिदका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाइएको छ । बंगलादेशले पैँचोमा मल नदिने पक्का भएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हिजो जीटुजीमार्फत मल खरिद गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाएको हो ।
धान रोपाइँ गर्ने समयमा मल आयातको ठेक्का पाएका शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले मल आयात अलपत्र पारेपछि देशभर रासायनिक मलको चरम अभाव भएको थियो । मुख्य धानबाली लगाउने बेलामै देशभर मलको चरम अभाव भएपछि कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत बंगलादेशसँग पैँचोमा मल माग्न अनुरोध गर्नु भएको थियो ।

कृषिमन्त्री भुसालको अनुरोधमा प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका समकक्षी शेख हसिनाबीच पैँचोमा मल उपलब्ध गराउनबारे टेलिफोनमा कुराकानी भएको थियो । भदौ दोस्रो हप्ता प्रधानमन्त्री ओली र बंगलादेशका समकक्षी शेख हसिनाबीच भएको मौखिक सहमतिमा ५० हजार मेट्रिक टन मल बंगलादेशले दिने र सोही परिमाणमा पछि फिर्ता गर्ने सहमति भएको थियो ।

सहमतिअनुसार बंगलादेशले अहिले मल नदिने भएपछि त्यही मललाई जीटुजीमार्फत खरिद गर्न मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाएको मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले जानकारी दिनुभयो । बंगलादेशले पैँचोमा नभई खरिद गरेर लैजान भनेर नेपालसँग प्रस्ताव गरेपछि मन्त्रालयले जीटुजीबाट मल खरिदका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको हो । प्रवक्ता केसीले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यमा तलमाथि भइरहने हुँदा बंगलादेशले पैँचोमा नभई खरिद गरेर नै लैजान नेपाललाई प्रस्ताव गरेको जानकारी दिनुभयो ।

You might also like

Comments are closed.