Nepal's First Video FM

बालुवाटारमा भएको ओली-प्रचण्डबीचको तीन घण्टाको छलफल विनानिष्कर्ष सकियो, भएन सहमति

328

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । झण्डै तीन घण्टा भएको छलफल विनानिष्कर्ष सकिएको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेताहरुले पुरानै अडान दोहोर्याएपछि सहमति बन्न नसकेको बुझिएको छ ।

सत्तारुढ दल नेकपामा सरकारले गरेको राजदूतको नियुक्तिको सिफारिसदेखि मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली विवाद र अर्का प्रमुखको नेपाल आगमनसमेतलाई लिएर विवाद हुँदै आएको छ ।

बालुवाटारमा अध्यक्षद्वयबीच सोही विषयमा छलफल भएको भएपनि कुनै सहमति हुन नसकेको हो। बिहीबारको भेटमा पनि प्रचण्डले स्थायी समितिका निर्णयहरु कार्यन्वयन नगरेको पर्सामा नेता चौरसिया मृत्यु प्रकरणमा छानविनका लागि सरकारले तदारुकता नदेखाएको तथा कर्णाली विवादमा समस्या समाधान गर्नुको साटो चर्काउन खोजेको भन्दै असन्तुष्टि जनाएका थिए ।

यसै बीच सत्तारुढ नेकपाभित्रको विवाद झनै उत्कर्षमा पुगेको छ । बिहीबार दिउँसो बालुवाटारमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलले विवाद झनै बढाएको एक नेताले दाबी गरे । ती नेताका अुनसार छलफल सकारात्मक नभएको बरु त्यसले विवाद थप बढेको हो ।

बुधबार ओली समूहले आफू निकट प्रदेश १ का नेताहरुसँग गरेको भर्चुअल बैठक र प्रधानमन्त्रीको राजीनामा सम्बन्धी अभिव्यक्तिलाई लिएर अध्यक्ष दाहालले आपत्ति जनाएका छन् । 

पार्टी फुटाउन खोजेको आरोप आफूलाई लगाएर बालुवाटारबाट फुटका गतिविधि भएको भन्दै दाहालले आपत्ति जनाएका हुन् । साथै पार्टीमा उठ्दै नउठेको राजीनामाको विषयबारे प्रधानमन्त्रीको बुधबारको अभिव्यक्तिप्रति पनि दाहालले आपत्ति जनाएको ती नेताले बताए । 

अहिले पार्टीमा प्रधानमन्त्रीको राजीनामाको विषय नभई स्थायी कमिटीका निर्णय कार्यान्वयन र पार्टी बैठकको मात्रै माग भएको दाहालले ओलीलाई भनेका थिए ।

पार्टी फुटाउन लागेको दोष आफूलाई लगाउने तर गुटका भेला, बैठक गरेर पार्टी फुटाउने तयारी बालुवाटारबाट भएको भन्दै दाहालले त्यसले निकास नदिने बताएका थिए । उनले सबै कुरा बैठकमा राख्न ओलीलाई आग्रह गरेको पनि ती नेताले बताए ।

तर, ओली बैठकप्रति सकारात्मक नभएपछि दाहाल छलफलको औचित्य सकिएको भन्दै बालुवाटारबाट निस्किएका थिए । 

प्रधानमन्त्री ओलीले आफूविरुद्ध षड्यन्त्रहरु भएका र त्यसको सामना गर्न तयार रहेको जवाफ अध्यक्ष दाहाललाई दिएका थिए । पार्टीभित्रैको असहयोगले सरकारको काममा असर पारेको भन्दै ओलीले आफूले पार्टी फुटका गतिविधि नगरेको बताएका थिए । दुई अध्यक्षबीचको छलफल सकारात्मक नभएपछि दुवै समूह थप रणनीति निर्माणमा जुटेका छन् ।

You might also like

Comments are closed.