काठमाडौं, २१ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको सचिवालय सदस्यहरुलाई पार्टी मुख्यालय धुम्बाराहीमा बोलाएका छन् ।
पछिल्लो समय अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग विवाद बढिरहेको बेलामा दाहालले सचिवालय सदस्यहरुलाई आज अपरान्ह ३ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बोलाएका हुन् ।
तर, प्रधानमन्त्री ओली बैठकमा सहभागी नहुने उनको सचिवालयले जनाएको छ । “यो पार्टी कमिटीको बैठक होइन, पार्टी कार्यालयमा बैठक बस्ने भनेर प्रधानमन्त्री तथा पार्टी अध्यक्षसँग छलफल पनि भएको छैन । महासचिवले औपचारिकरूपमा बैठक बोलाउनु पनि भएको छैन,” प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार अध्यक्ष दाहालले बोलाएको बैठक अनौपचारिक हो । नेकपाभित्र आन्तरिक विवाद चर्किरहेको छ । कतिपयले यो विवादले नेकपा नै फुट्ने हो कि भन्ने पनि आशंका गरिरहेका छन् । नेकपाका दोस्रो तहका नेताहरुले भने एकता जोगाउँदै अघि बढ्नुपर्ने र यसको लागि पार्टी कमिटीका बैठकहरु बोलाउनुपर्नेमा जोड दिएका छन् । हिजोको भेटमा दाहालले ओलीसमक्ष सचिवालय बैठक बोलाउन प्रस्ताव गरेका थिए । जवाफमा ओलीले आफू कुनैपनि बैठक राख्ने पक्षमा नरहेको कडा जवाफ फर्काएका थिए ।
Comments are closed.