काठमाडौं । गायक प्रमोद खरेल र गायिका अन्तरा उपाध्यायको युगल स्वर रहेको गीत ‘निरमाया’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । डान्सिङ शैलीको गीतमा शब्द संगीत तुंग नेपालको रहेको छ । गीतमा मोहित मुनालको संगीत संयोजन रहेको छ ।
भिडियोमा युवायुवती बीचको प्रेम र आकर्षण देखाउन खोजिएको छ । पुष्प खड्का र गरिमा शर्माको अभिनय रहेको भिडियोमा शुभम भुजेलले कोरियोग्राफी र बुद्ध थापाको छायाँकन रहेको छ । विकास धमलाको सम्पादन रहेको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।
रंगकर्मी सुरज तमुको म्युजिक भिडियो ‘हवाइ अड्डा…’ हालै सार्वजनिक भएको छ । ‘आउँछु सानु हवाइजहाज चढेर बादलमाथि चुरे हिल भएर…’ बोलको गीतको भिडियोमा सुमित तामाङ, कुसुम गुरुङ र सुरज तमुको मुख्य अभिनय छ ।
उक्त गीत पुराना प्रेमी-प्रेमिकाको सफल हुन नसकेको प्रेम संघर्षमा केन्द्रित छ । जसलाई सुरजले सुन्दर तरिकाले म्युजिक भिडियोमा उतारेका छन् । भिडियोमा सुमित लाहुरे (सैनिक जवान)को रुपमा देखिएका छन् । र उनी आफ्नी प्रेमिकालाई माया गरिरहे पनि सँगै रहन सफल छैनन् । सुरज भने सुमितका लागि बाधक बनिरहेका छन्।
सुरज सुमितकी प्रेमिकालाई पछ्याइरहने एक आवारा प्रेमीको रुपमा देखिएका छन् । भिडियोमा सुरज र सुमितको द्वन्द्वलाई एक स्मृतिको रुपमा सिर्जनात्मक रुपमा देखाइएको छ । सुमितले प्रेमिकालाई भेट्न खोजेको तर सुरजका कारण भेट्न नपाएको कल्पना भिडियोमा गरिएको छ ।
छिरिङ शेर्पा, सुवास तिमल्सिना, पवन गुरुङ, संगोक तामाङ लगायत कलाकारले पनि भिडियोमा अभिनय गरेका छन् । डारवीन लुंगेली र सानु तामाङको स्वरमा रहेको गीतका लागि डारवीन लुंगेलीले शब्द रचना गरेका हुन् । साथै रोमन बज्राचार्यले म्युजिक भरेका हुन् । यसमा किरण बरालले पनि साथ दिएका छन् ।
क्यामेरा र एडिटिङमा विजय ताम्राकारले काम गरेका हुन् । म्युजिक भिडियोको कन्सेप्ट र निर्देशन सुरजले नै गरेका हुन् । एकै ठाउँमा खिचिए पनि सिर्जनात्मक छ ।
Comments are closed.