Nepal's First Video FM

तत्काल पार्टी सचिवालय बैठक नबोलाउने ओलीको अडान कायमै, माधव नेपाल शक्तिशाली बन्दै

422

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले तत्काल पार्टीको सचिवालय बैठक नबोलाउने अडान दोहो¥याएका छन । बरिष्ठ नेता माधब नेपाल सहित नेताहरुसँग भएको भेटमा उनले छलफल हुने विषय पहिले टुङ्गो नगरेसम्म बैठक बस्दा विवाद मात्रै बढ्ने भएकोले त्यसरी बैठक नराख्ने अडान राखेका हुन ।

प्रधानमन्त्री ओलीले नेता नेपालको साथमा स्थायी समिति सदस्यहरु सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्तसँग बालुवाटारमा छलफल गरेका हुन । भेटमा ओलीले नेपालसँग पार्टी अफ्ठ्यारो अवस्थामा भएकोले सहयोग गर्न आग्रह समेत गरेको बताइएको छ । नेता नेपालले ओलीलाई बैठक पनि नडाक्ने, पार्टीभित्र मिलाएर पनि नलैजाने, एकलौटी रुपमा गर्दै जाने हो भने पार्टी झन झन विवादमा फस्ने जानकारी गराएका छन । उनले तत्कालै सचिवालय, स्थायी कमिटी, केन्द्रिय कमिटीका बैठकहरु बोलाएर छलफल गर्न पनि आग्रह गरेका छन ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका नेताले सचिवालय बैठक राख्न लिखित पत्र बुझाएको भोलिपल्ट ओलीले माधव नेपालसहितका नेता बोलाएर छलफल गरेका हुन ।

माधव नेपाल शक्तिशाली बन्दै….

यसै बिच नेपाल कम्युनिस्ट पार्टीभित्र वरिष्ठ नेता माधवकुमार नेपाल निर्णायक शक्ति बनेका छन् । अब उनले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको टकरावमा जसलाई समर्थन गर्छन् उही बलियो हुन्छ । तर, यी दुईको विवादले नेकपाभित्रको राजनीतिक पासा यसरी पल्टने अवस्था बन्दैछ कि माधव नेपाल सबैभन्दा शक्तिशाली बन्दैछन् ।

नेकपाभित्रको मुख्य शक्तिमध्येका केपी ओली, प्रचण्ड र माधवकुमार नेपाल कोही पनि बहुमतमा नरहेको देखिदैछ । अब दुई नेता मिल्दा मात्र बहुमतको अवस्था हुन्छ । यसकारण ओली र प्रचण्डबीचको विवादमा नेपाल निर्णायक शक्ति बनेका हुन् । उनले तेस्रो शक्तिका रुपमा राजनीतिमा बाजी मार्न खोजेको देखिदैछ ।

प्रचण्डले पटक पटक ओलीसँग सहमति गरेपनि आफूलाई पेल्ने शैली देखेपछि बरु नेपाललाई प्रधानमन्त्री मान्न तयार हुने गरी कठोर कदम चाल्ने गरी बढेको बुझिएको छ । अहिले माधव नेपाल अगाडि बढेपछि उनलाई मनाउन प्रधानमन्त्री ओली सक्रिय भएका छन् । उनले दशैंताका र त्यसपछि गरी तीनपटक नेपालसँग भेटिसकेका छन् । राजनीतिक लेनदेनको कुरा गरेका छन् । विशेषगरी भावी अध्यक्षका लागि सहयोग गर्ने देखि पूर्व एमालेबीचको एकतामा जोड दिएका छन् । तर, प्रचण्ड र वामदेव ओलीसँग सम्झौताका लागि तयार हुँदा पनि नेपाल नडगमगाएकाले यसपटक उनी सम्झौतामा गइहाल्ने अवस्था छैन ।

नेपाल प्रधानमन्त्री बन्ने वातावरण देख्न थालिसकेका छन् । ओली र प्रचण्डको विवादमा उनले मौका पाउने अवस्था आउन सक्ने देखिएको छ । प्रचण्डले नेपाललाई प्रधानमन्त्री मान्न तयार हुने अवस्था बनेकाले उनले ओलीसँग तत्काल प्रधानमन्त्री बन्न सहयोग हुने परिस्थितिमा मात्र सम्झौता गर्न सक्छन् । तर, ओली कुनै हालतमा राजीनामा नदिने अडानमा छन् । उनी बरु अविश्वासको प्रस्तावको सामना गर्न तयार रहेको बताइसकेका छन् ।

यस्तो अवस्थामा माधव नेपाल ओलीको भन्दा प्रचण्डको समर्थनमा प्रधानमन्त्री बन्ने परिस्थिति विकास भएको छ । कथंकदाचित् ओली हट्नैपर्ने अवस्था भएमा पूर्व एमाले एक भएर माधव नेपाललाई प्रधानमन्त्री मान्न तयार हुने अवस्था पनि छ ।

You might also like

Comments are closed.