नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक सारेको छ। आजका लागि बोलाइएको बैठक कात्तिक २७ गतेसम्मका लागि सारिएको हो।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सोमबार दिउँसो १ बजेका लागि तय भएको बैठक सरेको हो। अब कात्तिक २७ गते बिहीबार दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने उनले जानकारी दिए। सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरुलाई सहभागी हुन कांग्रेसले आग्रह गरेको छ।
असोजदेखि कांग्रेसले केन्द्रीय समिति बैठक सार्दै आएको छ। असोज १२ मा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका २७ केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै १६ बुँदे विरोध पत्र दर्ता गरेका थिए।
उक्त पत्रबारे पदाधिकारी तथा पूर्वपदाधिकारी सहभागी रहेर पटकपटक छलफल गरेको कांग्रेसले अब कात्तिक २७ मा हुने बैठकमा सहमतिका लागि प्रस्ताव पेश गर्ने तयारी गरेको छ।
आइतबार सभापति देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले विभाग यथावत् राख्दै क्रियशील सदस्यता तथा समायोजन लगायतका एजेन्डामा सहमतिको प्रस्ताव अब बस्ने केन्द्रीय समितिमा पेश गर्ने मौखिक सहमति गरेको छ। उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला आइसोलेसनमा रहेकोले पनि केन्द्रीय समिति बैठक केही दिन सार्नु परेको सहमहामन्त्री प्रकाशशरण महतको भनाइ छ।
Comments are closed.