काठमाडौँ कार्तिक २८- कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज शुक्रबारलाई निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो–मीठो खान दिई खुसी पार्ने गरिएको हो ।
लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलन समेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।
“काकेन दधि भक्षितम्” अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रही आएको छ । यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ । यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ ।
यमपञ्चक शुरु, बिहीबारदेखि यमदीप दान
कात्तिक २९ गते शनिबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्छ । अपराह्न १:४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए ।
गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक ३० गते आइतबार गर्नुपर्ने शास्त्रीय वचन छ । आइतबार बिहान ११:२७ बजेसम्म औँशी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ । मङ्सिर १ गते सोमबार तिहारको मुख्य दिन भाइटीका पर्व मनाइन्छ । बिहान ११:३७ बजे भाइटीकाको साइत उत्तम रहेको अध्यक्ष गौतमले बताए । मङ्सिर १ गते सोमबार मह्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत नै हुन्छ ।
मङ्सिर १ गते भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्को नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको उहाँले सुनाउनुभयो । यसै दिनदेखि नेपाल संवत् ११४१ सुरु हुन्छ ।
भाइपूजा र नेवारी भाषामा किजापूजा पनि मङ्सिर १ गते नै गरिन्छ । मङ्सिर २ गते बिहान ७:०४ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले मङ्सिर १ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ । नेवार समुदायका केही संस्थाले मङ्सिर २ गते भाइटीका मनाउने भनी गरेको निर्णय शास्त्रसम्मत नरहेको जनाउँदै नेवार समुदायका तीन जना पञ्चाङ्गकारले प्रकाशन गरेका तीन पात्रो (पञ्चाङ्ग) ले पनि मङ्सिर १ गते भाइटीका उल्लेख गरेका छन् ।
Comments are closed.