काठमाडौं कार्तिक २८ , । सरकारले नवप्रवर्तनकारी काम सुरु गर्न चाहनेलाई ऋण लगानी गरिदिने भएको छ । नवीनतम सोच, ज्ञान, सीप र क्षमताको प्रवद्र्धन गर्न राज्यले नवप्रवर्तनकारी काम सुरु गर्ने व्यक्ति तथा संस्थालाई सुरुवाती पुँजी ऋण अनुदानमा दिने भएको हो ।
सरकारले अघिल्लो आर्थिक वर्षको बजेटमार्फत नवप्रवर्तनकारी काम सुरु गर्नेलाई अनुदानका रूपमा सुरुवाती पुँजी दिने घोषणा गरेको थियो । तर, अघिल्लो वर्ष उक्त कार्यक्रम कार्यान्वयन हुन सकेन । चालू आर्थिक वर्षबाट भने सरकारले सुरुवाती पुँजी अनुदानमा नभई सहुलियत ऋणमा दिने घोषणा गरेको छ । बजेटमा भएको सोही व्यवस्थाअनुसार नयाँ आविष्कारको काम गर्ने व्यक्ति, कम्पनी तथा संस्थालाई ऋण लगानी गरिदिने भएको योजना आयोगले जनाएको छ ।
नवीनतम सोच, ज्ञान, सीप र क्षमता भएका आविष्कारकर्ता, उद्यमी, व्यवसायी व्यक्ति वा संस्थालाई त्यस्तो उद्यम तथा व्यवसाय सञ्चालन गर्नका लागि सुरुवाती पुँजीका रूपमा ऋण अनुदान उपलब्ध गराइने राष्ट्रिय योजना आयोगले जनाएको छ । अहिलेलाई १० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको योजनामा लगानी गरिदिने आयोगको भनाइ छ । यस्तो ऋण अनुदान २ प्रतिशत ब्याजदरको हुनेछ ।
विज्ञान प्रविधि, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग–वाणिज्यलगायत ८ वटा क्षेत्र तोकिएको छ । यी क्षेत्रमा अविष्कार गर्नेलाई सरकारले पुँजी दिने हो । काम सुरु हुँदै जाँदा तीन किस्तामा उपलब्ध गराइने यस्तो ऋण सम्बन्धित व्यक्ति वा संस्थाले साढे ४ वर्षभित्र तिरिसक्नुपर्ने छ । यसैबीच आयोगले गत वैशाख २९ मा नवप्रवर्तन सुरुवाती पुँजी अनुदान प्रदान गर्न प्रस्ताव आह्वान गरेको थियो । त्यसमा करिब ७ सयवटा आवेदन परेका थिए ।
Comments are closed.