प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार सचिवालय सदस्यलाई वितरण गरेको प्रस्ताव फिर्ता नभएसम्म कुनै बैठक नबस्ने बताएका छन्।
सत्तारुढ नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला शुक्रबार बालुवाटारमा बसेको सचिवालयको बैठकमा अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएका समस्या समाधानका लागि भन्दै १९ पृष्ठ लामो प्रस्ताव वितरण गरेका थिए, जसमा प्रधानमन्त्री ओलीले सरकार राम्रोसाग सञ्चालन गर्न नसकेको र पार्टी चलाउन पनि नदिएको आरोप लगाइएको छ।
शनिबार बिहानैदेखि प्रधानमन्त्री ओली निकट नेताहरूले प्रचण्डको एकल प्रस्ताव फिर्ता हुनु पर्ने बताइरहेका छन्। स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बास्कोटाले अध्यक्ष प्रचण्डले प्रस्ताव फिर्ता लिएर पार्टी एकता जोगाउनु पर्ने बताएका छन्।
प्रधानमन्त्री ओली निकट नेता र सल्लाहकारका कडा प्रतिक्रियामा प्रस्ताव फिर्ता लिनु पर्ने तर्क गरिएको छ, जसमा थापाको प्रतिक्रिया सबैभन्दा कडा छ।
‘अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयमा एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्ट्रीकरण हो’, थापाले भनेका छन्, ‘यस्तो लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुनसक्दैन।’
थापाले प्रचण्डको एकल प्रस्ताव पार्टी विधान, परम्परा, अभ्यास र दुबैजना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेको निर्णयको ठाडो उल्लंघन भएको बताएका छन्।
‘यसलाई फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल गर्ने त के सम्वाद पनि शत्रुवत् र निरर्थक बन्न पुगेको हुनाले अविलम्ब फिर्ता गरिनुपर्छ’, उनको भनाइ छ। सोर्त नेपाल खबर
Comments are closed.