सत्तारुढ नेकपाको सचिवालय बैठक नजिकिँदै गर्दा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्श तीव्र बनाउनुभएको छ । आइतबार दिनभरजसो परामर्शमा रहेका प्रधानमन्त्री ओलीले हिजो बेलुका पनि आफ्नै निवासमा पूर्वमाओवादी केन्द्रका नेताहरूसहितलाई राखेर छलफल गर्नुभयो ।
मध्यरातिसम्म भएको छलफलमा पूर्वमाओवादी केन्द्रका नेताहरूले प्रधानमन्त्रीलाई लचिलो हुन सुझाव दिएका छन् । प्रधानमन्त्री र पार्टीको पहिलो वरीयताको अध्यक्ष भएकाले लचिलो हुने दायित्व ओलीकै भएको उनीहरूले सुझाएका थिए ।
छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, पार्टी महासचिव विष्णु पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ, सुवास नेम्वाङसहितका नेताहरू सहभागी थिए । पूर्वमाओवादी केन्द्र समूहका स्थायी कमिटी सदस्यद्वय देवेन्द्र पौडेल र टोपबहादुर रायमाझी सहभागी थिए । हरिबोल गजुरेल भने उपस्थित हुनुभएन ।
देवेन्द्र पौडेलले आफूले दुवै अध्यक्षलाई भेटेर पार्टी फुटबाट जोगाउन र एकताको रक्षा गर्न आग्रह गरेको जानकारी दिनुभयो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले विषको घडा पिएर भए पनि पार्टी एकता बचाउन आग्रह गरेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री ओलीले पनि कुनै मूल्यमा पार्टी फुट्न नदिने आश्वासन नेताहरुलाई दिनुभएको छ ।
Comments are closed.