उपत्यकामा कोरोना संक्रमित हुनेहरुको संख्या एक लाख नाघे , कोरोनाका नाममा ब्रम्हलुट : एउटा साबुनको मूल्य ३ हजार ८३१ रुपैयाँ !
काठमाडौं । काठमाडौं उपत्यकाका कोरोना भाइरस संक्रमित हुनेहरुको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ११०७ जना संक्रमित थपिएसँगै उपत्यकाको कुल संक्रमितको संख्या एक लाख ८७२ पुगेको हो ।
उपत्यकामा सबैभन्दा धेरै संक्रमित काठमाडौं जिल्लामा छ । यहाँ हालसम्म ८१ हजार ५८८ जना छन् । उनीहरुमध्ये ७१ हजार ५९१ जना संक्रमणमुक्त भएका छन् भने ३१६ जनाको मृत्यु भएको छ । संक्रिय संक्रमित ९ हजार ६८१ जना छन् । यस्तै ललितपुरमा कुल संक्रमितको संख्या ११ हजार ९४८ जना छन् । उनीहरुमध्ये ९ हजार ६३१ संक्रमणमुक्त भएका छन् भने ८९ जनाको मृत्यु भएको छ । २ हजार २२८ संक्रिय संक्रमित छन् ।
भक्तपुरमा हालसम्म ७ हजार ३३६ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ६ हजार ४७० जना संक्रमणमुक्त भएका छन् भने ८३ जनाको मृत्यु भएको छ । भक्तपुरमा ७८३ संक्रिय संक्रमित छन् ।
उपत्यकाका कोरोना भाइरस संक्रमितको संख्या देशभरकै कुल संक्रमितको ४६।४९ प्रतिशत हो । उनीहरुमध्ये ४८८ जनाको मृत्यु भएको छ भने ८७ हजार ६९२ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै ‘एउटा लाइफबोय साबुनको मूल्य कति ?’ बिक्रेताहरुका अनुसार ९५ ग्रामको खुद्रा मूल्य ३० रुपैयाँ र १२५ ग्राम तौल भएको साबुनको ३५ रुपैयाँ पर्छ ।
तर यही साबुनका लागि सप्तरीको एउटा स्थानीय तहले ३ हजार ८३१ रुपैयाँ ४२ पैसाको बिल बनाएको छ ।
बोदे बर्साइन नगरपालिकाले कोरोना महामारीका समयमा २ करोड २१ लाख ३४ हजार ३ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ, जसमा स्यानिटाइजर, साबुन, झुल, म्याट्रेस, मास्क, पञ्जा लगायतका सामाग्री खरिद गरिएको छ ।
साबुनको मूल्यमा मनपरी
नगरपालिकाको कार्यालयले प्रमाणित गरेको खर्च विवरणमा साबुनको शुल्क मनमरी राखेको पाइएको छ ।
चैत २२ गते ९५ पिस लाइफाबोय साबुन खरिद गरिएको छ, जसको मूल्य ३ लाख ६३ हजार ९८५ रुपैयाँ छ । यसअनुसार एउटा साबुनको मूल्य ३ हजार ८३१ रुपैयाँ ४२ पैसा पर्छ ।
चार दिनपछि ११४० पिस साबुन किनिएको छ, जसको मूल्य ४ लाख ३१ हजार ९५५ रुपैयाँ छ । यसअनुसार एउटा साबुनको मूल्य २९९ रुपैयाँ ९६ पैसा पर्यो ।
चैत ३१ गते फेरि ६९१२ पिस लाइफबोय साबुन किनिएको छ र २ लाख ३ हजार ८०६ रुपैयाँ खर्च देखाइएको छ । यसअनुसार एउटा साबुनको २९ रुपैयाँ ४९ पैसा पर्यो ।
यसबारे प्रश्न गर्दा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले खर्च विवरणमा प्रिन्ट मिस्टेक भएको तर्क गरे । २२ चैतमा खरिद गरिएको साबुन ९५ पिस नभई कार्टुन भएको उनको दाबी छ । तर ९५ कार्टुन साबुन किनेको भए चार दिनपछि नै ६९१२ पिस किन खरिद गरियो भन्ने जवाफ उनीसँग छैन ।
मूल्य पनि त्यसअनुसार मिल्दैन ।
नगरपालिकाको हिसाब गडबड साबुनमा मात्र छैन, स्यानिटाइजर लगायतको मुख्यमा पनि छ ।
खर्च विवरणमा २२ चैतमा ७ लाख ७ हजार १९२ रुपैयाँमा २८०४ पिस स्यानिटाइजर खरिद गरेको उल्लेख छ ।
चार दिनपछि नगरपालिकाले फेरि २ हजार ४० पिस स्यानिटाइजर किनेको छ र यसको ६ लाख २२ हजार ४४० रुपैयाँको हिसाब देखाइएको छ । चार दिनको अन्तरमा एक पिस स्यानिटाइजरको मूख्यमा ४७ रुपैयाँ ४५ पैसा फरक परेको छ ।
नगरपालिकाले २८ वैशाखामा ७५ पिस पीपीई गाउन (सिम्पल) किनेको छ, जसको मूल्य २७ लाख ५२ हजार ५०० राखिएको छ । यसहिसावले एक पिस पीपीई सेटको ३६ हजार ७०० रुपैयाँ परेको छ । जुन बजार मूल्यभन्दा अत्याधिक धेरै हो ।
एक पिस सर्जिकल मास्कको मूल्य झण्डै ८० रुपैयाँ छ भने पञ्जाको मूल्य ७०० बढी राखिएको छ ।
Comments are closed.