Nepal's First Video FM

एकै पटक ७५ हजारको सन्देश, ‘बुद्ध नेपालमा जन्मिएका हुन’

813

फागुन १६, आगामी शनिबार टुँडिखेलमा करिब ७५ हजारले एकै पटक भगवान् गौतमबुद्ध नेपालमा जन्मिएका हुन् भनेर वाचन गर्ने भएका छन् ।

विश्व कीर्तिमानी परिषद् नेपालको आयोजनामा सर्वसाधारणसहित ७५ हजार जनाले एकै पटक बुद्ध नेपाल जन्मेका हुन् भनेर वाचन गर्ने बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा परिषद्का वरिष्ठ उपाध्यक्ष अक्कलबहादुर तामाङले जानकारी दिए ।

बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वसामु चिनाउनका लागि एकै पटक यति धेरै मानिसको सहभागिता गराएर वाचन गर्न लागिएको उनले बताए ।

‘भगवान् बुद्धको जन्मस्थल र बुद्धिजमको उद्गमस्थल नेपालको लुम्बिनी हो’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा बुद्धको जन्म नेपाल हो भन्नेसहित बुद्धको उपदेश, प्रवचन, धम्मपदको सारगर्भित अंशसमेत वाचन गरिने छ । बिहान ११ बजेबाट २ बजेम्म सर्वसाधारण टुँडिखेल प्रवेश गरिसक्ने र त्यसपछि मात्र वाचन गरिने छ ।

करिब १० मिनेट सबैले वाचन गरी गिनिज बुकका कीर्तिमान कायम गर्नका लागि कार्यक्रम आयोजना गरिएको र बुद्ध नेपालमा नजन्मेको भ्रम फैलाइरहेको भन्दै त्यस भ्रमलाई हटाउनका लागि पनि कार्यक्रम सान्दर्भिक हुने बताए ।

अहिलेसम्म ७५ हजार पास वितरण गरिसकेको जानकारी परिषद्का वरिष्ठ उपाध्यक्ष संर्घष विष्टले गराए । पास देखाइसकेपछि मात्र कार्यक्रममा प्रवेशको व्यवस्था मिलाइएको छ ।

करिब १५ हजार पास टुँडिखेलको मूलगेटमा वितरण गर्ने योजना रहेको छ । चारवटा गेट र ४० वटा सहायक गेटबाट प्रवेशको व्यवस्था मिलाइएको छ । कार्यक्रममा तीन हजार स्वयंसेवक र एक हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिने छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.