७ मंसिर, २०७ काठमाडौं । मंसिर महिना सुरु भइसकेको छ । यो महिनालाई विशेष गरी विवाहको महिना भन्ने गरिन्छ । नेपाली परम्परा अनुसार मंसिरदेखि विवाहको लगन सुरु भएको मानिन्छ । लगनको महिनामा दुई परिवारबीच नयाँ सम्बन्ध स्थापित हुने गर्दछ ।
विवाहलाई स्मरणीय बनाउन गीत-संगीतको भूमिका पनि उतिक्कै महत्त्वपूर्ण हुन्छ । मंसिर महिना सुरु भएपछि विवाह सम्बन्धि गीतहरु सार्वजनिक हुने गरेका छन् ।यसैक्रममा, गीतकार विनिता खनालले विवाह सम्बन्धी गीति एल्बम ‘लगनगाँठो’ सार्वजनिक गरेकी छन् ।
आइतबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको यो एल्बममा पाँच गीत समावेश छन् । एल्बममा ‘आयो है आयो’ (मेहेन्दी गीत), ‘धुतुरी धुतुरी बाजा बजाई’ (जन्ती गीत), ‘दौरा सुरुवाल चिटिक्कै’ (रत्यौली गीत), ‘विदाई गर्न छोरी तिमीलाई’ (दुलही अन्माउने गीत) र ‘छमछम पाउजु’ (रिसेप्सन गीत) रहेका छन् ।
कार्यक्रममा यी पाँचवटै गीतका भिडियो समेत एकसाथ सार्वजनिक गरिएको हो । विवाहका पाँच गीतका भिडियोमध्ये आइतवार ‘मेहेन्दी’ यूट्युबमा सार्वजनिक गरिएको छ । रत्यौली, जन्ती, विदाई र रिसेप्सन गीत भने क्रमशः मंसिर ८, ९, ११ र १२ गते ओएसआर डिजिटल यूट्युब च्यानलबाट सार्वजनिक हुनेछन् । विवाहका यी पाँचैवटा गीतका भिडियोलाई सुव्रत राज आचार्यले निर्देशन गरेका हुन् ।
‘लगनगाँठो’ एल्बममा समावेश गीतमा किरण कँडेलको एकल संगीत छ । ‘आयो है आयो’ गीतमा प्रविशा अधिकारी, ‘धुतुरी धुतुरी बजा बजाई’ मा मेलिना राई र श्रीवास्तव खरेल, ‘दौरा सुरुवाल चिटिक्कै’ मा मिना निरौला, ‘विदाई गर्न छोरी तिमीलाई’ मा वानिका प्रधान र ‘छमछम पाउजु’ मा निकिता थापा र प्रताप दासले स्वर भरेका छन् ।
Comments are closed.