Nepal's First Video FM

ढुक्क भएर परीक्षा दिन परीक्षार्थीलाई शिक्षामन्त्री पोखरेलको आग्रह

344

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यही मंसिर ९ गतेदेखि हुने कक्षा १२ को परीक्षामा आवश्यक सम्पूर्ण स्वास्थ्य सुरक्षाको व्यवस्थापन गरिएको हुँदा ढुक्क भएर परीक्षामा सहभागी हुन अनुरोध गरेका छन्। एक अपिल जारी गर्दै पोखरेलले परीक्षा केन्द्रहरुमा भौतिक दूरी कायम गरी बस्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुनेजस्ता कोभिड सुरक्षा मापदण्ड कडाइपूर्वक पालना गर्नेलगायतका परीक्षासम्बन्धी आवश्यक सम्पूर्ण पक्षको व्यवस्थापन गरिएको जनाएका हुन्।

घरमा रहँदा होस् या परीक्षा केन्द आउँदा जाँदा आवश्यक सचेतना अपनाउन पनि उनले आग्रह गरेका छन्। उनले परीक्षा केन्द्रवरपर भीडभाड नगरिदिन अभिभावकहरुलाई आग्रह गर्दै परीक्षाको सिलसिलामा परीक्षार्थीलाई कोभिड संक्रमण भएमा पुनः परीक्षा दिन पाउने आवश्यक मिलाइएको पनि जानकारी दिएका छन्।

यस्तै, परीक्षालाई सुरक्षित तथा व्यवस्थित बनाउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको मापदण्ड र स्वास्थ्य क्षेत्रका विज्ञलाई समेत समेटेर कक्षा १२ को परीक्षा सञ्चालनसम्बन्धी कार्यविधि २०७७ जारी गरिएकाले सचेततापूर्वक अग्रपंक्तिमा रहेर पहलकदमी लिन जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन्।
गत वैशाख २० गते तय भएको परीक्षा कोभिड संक्रमणका कारण मंसिर ९ गतेबाट सुरुगर्न लागिएको हो। यसपटक कूल पूर्णांकमध्ये ४० प्रतिशतको परीक्षा हुनेछ भने बाँकी ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंकका आधारमा र १० प्रतिशत आन्तरिक मूल्यांकन हुनेछ ।

You might also like

Comments are closed.