काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारको लोकप्रियता देखेर आत्तिएकाहरुले सरकार परिवर्तन हुने नकारात्मक सन्देश फैलाएको बताएका छन् ।
पाँचथरको फाक्तुङ गाउँपालिका ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य इकाई भवनको उद्घाटन गर्दै सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न आग्रह समेत गरेका छन् ।
सरकार मुलुकको समृद्धिका लागि चौतर्फीरुपमा लागिपरेको जनाउँदै देशको समृद्धि नचाहने मान्छे विभिन्न तत्व सरकारविरुद्ध लागेको बताए । “हामी समृद्धिका लागि अघि बढिरहेका छौँ तर केही पक्ष लोकतान्त्रिक प्रणालीविरुद्ध भ्रम फैलाइरहेका छन्, यो कार्य त्रुटिपूर्ण हो”, प्रधानमन्त्री ओलीले भने ।
अर्काे प्रसङ्गमा उनले छिमेकी मुलुकसँगको सम्बन्धलाई सुदृढ गर्ने नीति सरकारले लिएको बताए । छिमेकी भारतद्वारा मिचिएको भूमि फिर्ता लिन गर्न गरेको प्रयास, भारत र चीन दुवैसँगको सम्बन्धलाई अझ सुधार, बन्द नाका खोल्ने जस्ता कार्यले वर्तमान सरकार सफल हुँदै गएको उनको भनाइ थियो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता सुवास नेम्वाङलगायतको उपस्थिति रहेको थियो ।
Comments are closed.