टाइगर पप अर्थात् अजय सिंहले इन्डियाज बेस्ट डान्सरको उपाधि जितेका छन् । १५ लाख रुपैयाँ राशिको उपाधि जित्दै उत्कृष्ट पपिङका लागि चिनिएका टाइगर पपले एक ब्रेजा ब्रिटा कार पनि पुरस्कार स्वरुप पाएका छन् ।
गएराति भएको अन्तिम प्रतिस्पर्धामा टाइगरले उपाधि जितेसँगै आफ्नी आमाका लागि एउटा घर किन्न चाहेको बताएका छन् । उनकी आमा अरुको घरमा भाँडा माझ्ने काम गर्थिन् । भारतको गुरुग्रामका टाइगरले यो उपाधि जित्नकै लागि मुम्बई आएको प्रतिक्रिया दिएका थिए । उनले अब आगामी दिनमा देशको नाम संसारभर फैलाउन लागिपर्ने बताएका छन् ।
आफूले अन्तर्राष्ट्रिय स्तरको प्रदर्शन गर्न चाहेको पनि बताएका छन् । उनले बलिउड अभिनेता ऋतिक रोशन र टाइगर श्राफको ठूलो फ्यान भएको भन्दै जिन्दगीमा मौका मिले उनीहरु दुवैका लागि कोरियोग्राफी गर्न चाहेको पनि बताए ।
सोनी टिभीले हरेक हप्ता शनिबार र आइतबार प्रशारण गर्दै आइरहेको उक्त डान्स शोको फिनालेमा टाइगरसँगै मुकुल जैन, सुब्रनिल पल, परमदीप सिंह र श्वेता वारियर रहेका थिए ।
उक्त शोमा मलाइका अरोरा, टेरेन्स लेविस र गीता कपूर निर्णायकका रुपमा रहेका थिए भने हालै मात्र गाँजा सेवनको आरोपमा पक्राउ परेका कमेडियन जोडी भारती सिंह र हर्ष लिम्बाचिया कार्यक्रमको संचालक रहेको भारतीय सञ्चार माध्यम द इण्डियन एक्स्प्रेसले जनाएको छ ।
Comments are closed.