Nepal's First Video FM

प्रहरीको गोली लागेर घाइते भएका सञ्जय न्यौपानेको मृत्यु

303

महोत्तरीको बर्दिबासमा मंगलबार छ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै गरिएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ । बर्दिबास नगरपालिका एकका सञ्जय भनिने बुद्धिराज न्यौपानेको उपचारकै मंगलबार राति कठमाडौंको ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।

४२ वर्षीय न्यौपानेको कम्मर मुनी गोली लागेको थियो । गोली लागेर गम्भिर घाइते बर्दिबास पाँचका श्याम कार्कीको भने उपचार भैरहेको छ । हत्या गरी बोरामा कोचेर फालिएको अवस्थामा बर्दिबास १४ की गुलबसा खातुनको शव मंगलबार बिहान भेटिएपछि आक्रोशित स्थानीयले प्रदर्शन गरेका थिए ।

प्रदर्शन नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर उनी घाइते भएका थिए । दुई दिनदेखि बेपत्ता बालिका मृत फेला परेपछि बलात्कारपछि हत्या भएको भन्दै आफन्त तथा स्थानीय बासिन्दा दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शव सडकमा राखेर प्रदर्शनमा उत्रिएका थिए ।

भीड नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । बालिकाको हत्या गरेको आरोपमा प्रहरीले अरुण कुमार साहलाई पक्राउ गरिसकेको छ ।

You might also like

Comments are closed.