Nepal's First Video FM

पूर्वराजाको पक्षमा देशभर प्रदर्शनः राप्रपाको नेतृत्व, नेकपा र कांग्रेस समर्थक रहेको खुलासा

279

काठमाडौं । जनआन्दोलनको झल्को दिने गरी गत ४ मंसिरमा राजावादीले धनगढीमा मोटरसाइकल र्‍याली गरे । सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिक समाजको आवरणमा र्‍यालीको आह्वान गरिएको भए पनि भित्री रूपमा सम्पूर्ण व्यवस्थापन हिन्दू राष्ट्र र राजतन्त्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले गरेको थियो । र्‍यालीमा राजावादी मात्र होइन, सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेस समर्थक पनि देखिन्थे ।

आयोजकले त नेकपा र कांग्रेसका समर्थक मात्र होइन, कार्यकर्तासमेत र्‍यालीमा सहभागी भएको दाबी गरेको छ । ‘सोचेभन्दा बढीको सहभागिता रह्यो, हामीले आह्वान मात्र गरेका हौँ, जनता स्वतस्फुर्त रूपमा सडकमा आए । अरू पार्टीका कार्यकर्ता पनि सहभागी भए,’ आयोजक समाजका संयोजक रविन्द्र कार्कीले भने ।

धनगढी–अत्तरिया–धनगढीसम्म गरिएको र्‍यालीमा सात हजारभन्दा बढीले सहभागिता जनाएको कार्कीको दाबी छ । यो सहभागिताले अहिलेको व्यवस्था फेल भएको पुष्टि गरेको उनको भनाइ छ । ‘लोकतान्त्रिक व्यवस्था फेल भएको र जनतामा व्यवस्थाप्रति नै वितृष्णा बढेको पुष्टि र्‍यालीले गरेको छ,’ कार्कीले भने । प्रहरीको रिपोर्ट भने र्‍यालीमा दुई हजारदेखि २२ सयसम्मको सहभागिता रहेको छ । जिल्ला प्रहरी प्रमुख एसपी अनुपशमशेर जबराले र्‍यालीको पूर्वजानकारी दिइएको बताए ।

र्‍यालीको तयारीमा राप्रपाका केन्द्रीय सदस्यहरू छत्र शाही, ललित नेगीसहित स्थानीय नेता–कार्यकर्ता जुटेका थिए । संंयोजक कार्की आफैँ पनि राप्रपानिकट युवा मोर्चाका प्रदेश अध्यक्ष हुन् । तर, स्वतन्त्र नागरिक र अरू पार्टीमा आबद्धहरूलाई सहभागी हुन सहज होस् भनेर पार्टीको झण्डा नबोकेको केन्द्रीय सदस्य शाहीले बताए । ‘स्वतन्त्र आयोजना देखाएर हामी ‘ब्याक ग्राउन्ड’मा बसेर खटियौँ,’ ¥यालीका लागि प्रचारप्रसारको संयोजन गरेका शाहीले भने, ‘अन्य पार्टीका साथीहरूले तपाईंको पार्टीको झण्डा प्रयोग नहुने भए हामी पनि जान्छौँ भन्नुभएको थियो ।’

सरकार र राजनीतिक दलका गतिविधिप्रतिको वितृष्णाका कारण पनि जनसहभागिता सोचेभन्दा बढी भएको शाहीले बताए । ‘दलहरूले गरेको गैरजिम्मेवार क्रियाकलाप र भ्रष्टाचारप्रतिको असन्तुष्टि हो यो । त्यही भएर अरू पार्टीका समर्थक पनि र्‍यालीमा आए,’ शाहीले भने, ‘भ्रष्टाचार अनियन्त्रित भयो, देशमा सयौँ राजाभन्दा एउटा राजा ठीक छ भन्ने मनस्थितिमा जनता पुग्न थालेका छन् ।’

र्‍यालीमा राष्ट्रिय झण्डा बोकेर हिन्दू राष्ट्र र राजतन्त्र पुनस्र्थापनाको नारा लगाइएको थियो । कैलाली र कञ्चनपुरका सहरी तथा ग्रामीण क्षेत्रबाट मानिसहरू र्‍यालीमा सहभागी हुन आएका थिए । जनसहभागिता बढाउन राप्रपाका गाउँसम्मका कमिटी र नेताहरू परिचालित भएका थिए । केही पहाडी जिल्लाबाट पनि राप्रपाका नेता–कार्यकर्ता र्‍यालीमा सहभागी भएको केन्द्रीय सदस्य शाहीले बताए । आयोजकले कतिपय सहभागीका लागि इन्धनको व्यवस्था पनि गरिदिएको थियो । संयोजक कार्कीले आ–आफ्नो ठाउँको सहभागिताको व्यवस्थापन स्थानीय कमिटीले नै गरेकाले आफूहरूको करिब दुई लाख रुपैयाँ मात्र खर्च भएको बताए ।

कांग्रेस कैलालीका उपसभापति प्रकाशबहादुर बमले सरकार र राजनीतिक दलहरूले जनअपेक्षाअनुसार काम गर्न नसक्दाको वितृष्णा र्‍यालीमा देखिएको बताए । ‘लोकतान्त्रिक व्यवस्थाप्रति भन्दा पनि लोकतन्त्रमा जे हुने भनिएको थियो त्यो हुन नसक्दा वितृष्णा बढेको हो । वितृष्णा अभिव्यक्त हुनु स्वाभाविक पनि हो,’ उनले भने । इमेज खबर मा यो समाचार छ

You might also like

Comments are closed.