Nepal's First Video FM

ओलीले के कारण भने प्रचण्डलाई धोकेबाज ?

497

काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा पछिल्लो समय देखिएको विवाद थप उत्कर्षमा पुग्दै छ । शनिबार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा नेकपा अध्यक्ष केपी शर्मा ओलीले यसअघि २८ कार्तिकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको प्रतिवेदनको जवाफ दिएका छन् तर, यसलाई सरसर्ती बुझ्दा यी दुई अध्यक्षले अहिले सचिवालयमा राजनीतिक प्रतिवेदन नभएर एकअर्कालाई आरोपप्रत्यारोप लगाएका छन् ।

यही आरोप प्रत्यारोपका कारण नेकपा विभाजन हुनसक्ने अनुमान पनि थप बलियो हुँदै गएको छ । ओलीले प्रतिवेदनमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी एकता हुनुभन्दा अगाडिको प्रसंग पनि निकाल्दै प्रचण्डमाथि आरोप लगाएका छन् । उनले प्रतिवेदनमा शान्ति प्रक्रिया प्रारम्भ भएपछिको प्रसंग पनि निकालेका छन् ।

उनले लेखेका छन्, ‘पहिलो संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो पार्टीको रुपमा देखा परेको तत्कालीन नेकपा (माओवादी) लाई संविधान निर्माणको अगुवाइ गर्ने ऐतिहासिक अवसर प्राप्त भएको थियो । निर्वाचनमा धक्का खाएका तत्कालीन नेकपा (एमाले) र नेपाली कांग्रेस आफ्ना कतिपय आधारभूत मान्यतामा सम्झौता गरेरै भए पनि संविधान बनोस् भन्ने पक्षमा थिए ।’

त्यसपछि उनले प्रचण्डले तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र नेकपा नेता माधवकुमार नेपाललाई प्रचण्डले धोका दिएको प्रसंग उल्लेख गरेका छन् ।

‘निर्वाचन सफलताको उन्मादमा तपाईंले पहिले गिरिजाप्रसाद कोइरालालाई र पछि माधवकुमार नेपाललाई अन्तिम अवस्थामा धोखा दिनुभयो,’ ओलीले लेखेका छन्, ‘उम्मेदवारी दाखिला गर्नुभन्दा केही मिनट अगाडि मात्र संसदीय दलको कार्यालयमा तत्कालीन नेकपा (एमाले) महासचिव झलनाथ खनाललाई बोलाएर माधवकुमार नेपाललाई राष्ट्रपतिमा समर्थन गर्न सकिँदैन भन्ने जनाउ दिएको सायद बिर्सनु भएको छैन होला ।’

अनि उनले यसमा प्रचण्ड बाहिरी शक्तिको कारण यस्तो गर्न बाध्य भएको पनि बताएका छन् । ‘कसको इशारामा र योजनामा भएका थिए यी सबै दाउपेच ?,’ ओलीको प्रश्न छ ।


त्यति मात्र होइन, ओलीले प्रचण्डले दोस्रो संविधान सभामा पराजय भएपछि निर्वाचन परिणाम स्वीकार्न पनि नमानेको उल्लेख गरेका छन् ।

उनले त्यति बेला बनेको छानबिन समिति र प्रचण्डको फेस सेभ गरेको कुरा प्रतिवेदनमा उल्लेख गरेका छन् ।

You might also like

Comments are closed.