Nepal's First Video FM

राजतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन !

403

काठमाडौं : राजतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन भएको छ । राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिले गरेको प्रदर्शनमा सहभागीहरुले पृथ्वीनारायण शाहको तस्बिर अंकित प्लेकार्ड बोकेका छन्।

हातमा राष्ट्रिय झण्डा बोकेका प्रदर्शनकारीले माइतीघरदेखि नयाँ वानेश्वरसम्म गरिएको प्रदर्शनमा राजा आऊ, देश बचाऊजस्ता नारा पनि लगाए।

राजतन्त्र र हिन्दु राज्य पुनःस्थापना तथा संघीयता खारेजी माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुले विभिन्‍न स्थानबाट जुलुस निकालेर माइतीघरमा प्रदर्शन गरेका थिए । उनीहरुले हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भनेर नारा घन्काएका थिए ।

बबरमहल, सिंहदरबार, थापाथलीसहितका स्थानमा गरिएको कडा सुरक्षाको बावजुद उनीहरु माइतीघरमा जम्मा भएर प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा काँग्रेसभित्र हिन्दुराष्ट्र पक्षधरसँग नजिक रहेका नेपाल विद्यार्थी संघको संस्थापक अध्यक्ष विपीन कोइराला पनि सहभागी थिए ।

आगामी मंसिर २० गते राजावादीहरुले बृहत् प्रदर्शन तयारी स्वरुप यो प्रदर्शन गरिएको बताइएको छ। पछिल्लो समय देशका प्रमुख सहरमा वर्तमान व्यवस्था विरोधीको सडक उपस्थिति देख्न सकिन्छ ।

यसअघि काठमाडौँको जमल, मोरङको विराटनगर, बर्दिया, कैलालीको धनगढी, धनुषाको जनकपुर र कास्कीको पोखरामा, बाँकेको नेपालगञ्ज, मकवानपुरको हेटौंडा र रुपन्देहीको बुटवलमा ठूलो सङ्ख्यामा प्रदर्शन भएको थियो ।

You might also like

Comments are closed.