Nepal's First Video FM

‘विप्लव’ नेतृत्वको समूहले सुराकीको आरोपमा हत्या गरिएका शिक्षकको शव बुधबार आफन्तले बुझेका छन्

297

विराटनगर : मोरङको मिक्लाजुङमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सुराकीको आरोप लगाउँदै हत्या गरिएका शिक्षकको शव बुधबार दिउँसो आफन्त र परिवारका सदस्यले बुझेका छन्।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि शव अन्त्येष्टिका लागि आफन्तले बुझेका हुन्। मिक्लाजुङको मधुमल्लास्थित बक्राहा घाटमा दाहसंस्कार गर्ने गरी शव लगेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

विप्लव समूहले हत्या गरेका शिक्षकको शव मिक्लाजुङ–२ स्थित घरमा लगेर राखिएको छ । उक्त घरमा छोरा छत्रबहादुर परिवारसहित बस्दै आएका थिए । शवको बिहीबार बिहान मिक्लाजुङको मधुमल्लास्थित बक्राहा घाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ । मिक्लाजुङ गाउँपालिका–१ बर्खे घर भएका स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको बर्बरतापूर्ण ढंगले मंगलबार बिहान हत्या गरिएको थियो।

घरैबाट अपहरण गरेर आधा घण्टा परको जंगलमा पुर्‍याएपछि आफ्नै नियन्त्रणमा राखेर ‘विप्लव’ समूहले श्रेष्ठको हत्या गरेको हो। हात बाँधेर घाँटी रेट्दै बिभत्स तवरबाट मारेर फ्यालेको अवस्थामा शव भेटिएको थियो। ‘विप्लव’ समूहले साँझ विज्ञप्ति सार्वजनिक गर्दै विगतको सशस्त्र युद्धकै झल्को दिने घटनाको जिम्मा लिएको छ।

मिक्लाजुङको उत्तरी क्षेत्र अति नै दुर्गम र विकट रहेकाले सुरक्षाकर्मीको पहुँच पुग्न नसक्दा आफ्ना गतिविधी सञ्चालनदेखि संरचना तयार र विस्तार गर्दै उक्त घटना गराउन विप्लव समूहलाई सहज भएको हुनसक्ने प्रहरीको अनुमान छ।

आफ्नाविरुद्ध सुराकी गरेको, नेता तथा कार्यकर्ता पक्राउ गराउनतर्फ लागेको र पार्टीका सबै गतिविधि सुरक्षा निकायलाई जानकारी गराउन थालेको पाइएपछि यो अवस्था आएको दाबी ‘विप्लव’ समूहको छ।

उक्त समूहका मेची–कोसी ब्यूरो इञ्चार्ज प्रतापले सार्वजनिक गरेको विज्ञप्तिमा पटकपटक सचेत गराउँदा पनि नसच्चिएपछि र हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा श्रेष्ठको मृत्यु भएको दाबी गरिएको छ। अन्पूर्ण पोस्ट मा खबर छ

You might also like

Comments are closed.