काठमाडौं, २५ मंसिर । सरकारले डिआइजी विश्वराज पोखरेललाई एआइजीमा बढुवा गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले पोखरेललाई एआइजीमा बढुवा गरेको बैठकमा उपस्थित एक मन्त्रीले जानकारी दिए। उनलाई प्रहरी मुख्यालयमा पदस्थापन गरिएको छ।
संसदको राज्य व्यवस्था समितिले हिजो मात्रै व्यक्ति विशेषका लागि दरबन्दी थप्न नहुने भन्दै बढुवा नगर्न सरकारलाई निर्देशन दिएको थियो।
यसैगरी, बैठकले सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाललाई सचिवमा बढुवा गरेको छ।
यसअघि सरकारले नेपाल प्रहरीको संगठनात्मक संरचना (ओएण्डएम) स्वीकृत गर्दै नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजीको दरबन्दी थप्ने निर्णय गरेको थियो। बढुवा समितिमा गृहसचिव महेश्वर न्यौपाने अध्यक्ष, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री सदस्यसचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहने व्यवस्था छ।
पोखरेल कनिष्ठ ब्याचबाट यसअघि पनि डिआइजी बढुवा भएका थिए। बढुवा निर्णयसँगै पोखरेल हालका प्रहरी महानिरीक्षक क्षत्रीपछि स्वत: प्रहरी नेतृत्वमा पुग्छन्। नेपाल प्रहरीमा ३० वर्षे सेवाअवधि कायमै रहे पोखरेलले क्षत्रीको कार्यकालपछि ११ महिना प्रहरी नेतृत्व सम्हाल्छन्।
यही सेवाअवधि कायम रहेकै अवस्थामा हालका महानिरीक्षक क्षत्रीसँगै बाँकी तीन एआइजी अवकाशमा जाने हुनाले भावी प्रहरी नेतृत्वका लागि पोखरेल एकल दाबेदार हुनेछन्। प्रहरी महानिरीक्षक क्षत्रीकै ब्याचबाट एआइजीका आकांक्षी पनि थिए। तर, ती सबैलाई किनारा लगाउँदै पोखरेल एआइजी सिफारिस भएका थिए।
पोखरेलका ब्याची सबै अहिले डिआइजी छन्। गृहको ओएन्डएम स्वीकृतिमा पोखरेलका ब्याची डिआइजी र हालका प्रहरी महानिरीक्षक क्षत्रीका ब्याचीले असन्तुष्टि जनाउँदै आएका थिए।
Comments are closed.