Nepal's First Video FM

अब सडक भत्काउन निषेध ! लालबाबु

483

फाल्गुन १९, जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले पटक–पटक सडक भत्काइँदा काठमाडौंमा वायु प्रदूषण बढेको भन्दै अब त्यसमा रोक लगाइने बताएका छन् । प्रदूषण नियन्त्रणका लागि सबै संयन्त्रले एकीकृत रूपमा काम गर्ने रणनीति बनाइने उनको भनाइ छ ।

‘कहिले सडक, कहिले विद्युत्, कहिले दूरसञ्चार त कहिले ढलले सडक भत्काइरहेका छन्,’ मन्त्री पण्डितले बुधबार कान्तिपुरसँग भने, ‘जहिले पनि भत्काउने र बनाउने यो चक्र अब अन्त्य गरिन्छ ।’
सडक भत्काएपछि महिनौं त्यत्तिकै छाड्ने प्रवृत्ति रहेको उल्लेख गर्दै पण्डितले काम सकिएपछि तुरुन्तै कालोपत्रे गर्ने व्यवस्था मिलाइने बताए । ‘भत्किएको सडकमा तीन–तीन दिनमा पानी हालेको रेकर्ड देखिन्छ तर सम्बन्धित ठाउँ पुग्दा हप्ता दिनमा एकपटक पनि हालिएको छैन,’ उनले भने, ‘त्यसरी सरकारी रकम दुरुपयोग गर्नेलाई कारबाही गरेरै छाड्छु ।’ बुधबारै रत्नपार्कस्थित स्टेसन पुगेर प्रदूषण मापनयन्त्र अवलोकन गरेका मन्त्री पण्डितले प्रदूषणको अवस्था भयावह रहेको बताए । ‘राष्ट्रिय मापदण्डभन्दा ८ गुना बढी प्रदूषण पाइयो,’ उनले भने, ‘विकास निर्माणको कामले धूलो उडाएको छ, गाडी, चिम्नी र उपत्यकाको छेउमै कतिपय ठूला–ठूला सिमेन्ट उद्योगबाट निक्लेको धूवाँले प्रदूषण बढायो ।’

ऐन–कानुन प्रभावकारी बनाउन सके प्रदूषण नियन्त्रण गर्न सकिने पण्डितको भनाइ छ । ‘अब हरियो स्टिकर नलगाएका सवारीलाई महानगर र उपमहानगर प्रवेश गर्न दिइनेछैन,’ उनले भने । हरियो स्टिकर लगाएका सवारी पनि जाँच गर्दा ४७ प्रतिशत ‘फेल’ भएको उल्लेख गर्दै उनले त्यस्तो कार्यमा संलग्नलाई कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाए ।वातावरण मन्त्रालयमा अहिलेसम्म रिपोर्ट बनाउने, दातालाई पेस गर्ने र विदेश भ्रमणबाहेक काम नभएको मन्त्री पण्डितको दाबी छ । एउटै कर्मचारी पटक–पटक गरी वर्षमा २ सय १० दिनसम्म विदेश बस्ने गरेको उनले बताए ।

साभार इकान्तिपुर

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.