Nepal's First Video FM

ओलीले आफूनिकट सांसदलाई भने- प्रचण्डले मलाई कारबाही गर्ने आधार छैन, उनी उपाध्यक्षसरहका मान्छे हुन्

318

प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको उपाध्यक्षसरहको व्यक्ति भएको बताएका छन्।

नेकपामा आफूले हस्ताक्षर नगरेको कुनै पनि निर्णयले वैधानिकता नपाउने बताएका छन् । आफू निकट सांसदहरुको बैठकलाई प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै ओलीले प्रचण्ड–माधव नेपाल पक्षले आफूलाई अनुशासनको कारवाही गर्ने भन्ने हल्ला सुनेको भन्दै त्यस्ता निर्णय मनको चित्त बुझाउनलाई मात्र काम लाग्ने बताए ।

भेलामा सहभागी सांसद महेश बस्नेतका अनुसार सम्बोधनका क्रममा ओलीले प्रचण्ड नेतृत्वमा बसेका बैठक र भेलाले आफूविरूद्ध कुनै कारबाही गर्न नसक्ने बताए। ‘ऊ बेला प्रचण्डको चित्त बुझाउन दोस्रो अध्यक्ष दिइएको हो। त्यो भनेको उपाध्यक्षसरहको हो। अहिले पनि पार्टीको अध्यक्ष र संसदीय दलको नेता म हो, मैले गरेका निर्णय वैधानिक हुन्छन्,’ ओलीको भनाइ उद्धृत गर्दै बस्नेतले भने,‘त्यही भएर उपाध्यक्षले गरेका भेला र बैठकले मलाई कारबाही गर्ने कुनै आधार छैन।’

उनले नेकपामा छिरेर प्रचण्डले ओलीलाई कारबाही गर्ने कुरा कसैले नपत्याउने उल्लेख गरे। ‘यो त विश्व राजनीतिमै दुर्लभ घटना हुने भयो,’ ओलीले भने,‘यस्तो कुरा कसैले पत्याउनु पर्‍यो नि!’

आइतबार ओली र उनी पक्षीय सदस्यको उपस्थितिबिना बसेको नेकपा स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने र पुस ७ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो।

You might also like

Comments are closed.