काठमाडौं, १० पौष । प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली इबी साँध्ने व्यक्ति भएको बताएका छन्।
पार्टीको केन्द्रीय कमिटीको बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पत्रकारका प्रश्नको जवाफ दिँदै उनले ओलीलाई गोमन सर्पसँग तुलना समेत गरे । ‘उहाँ गोमन सापजस्तै हुनुहुँदोरहेछ,’ उनले भने।
गोमन सापलाई कसैले हिर्कायो र भाग्यो भने उसले हिर्काउने मान्छेको तस्वीर दिमागमा राख्ने र मौका पाउँदा ठुंङ्ग्ने गरेको खनालले सुनाए।
यस्तै नेकपा (प्रचण्ड-नेपाल ) पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली गणतन्त्र र संघीयता विरोधी रहेको बताएका छन् । उनले ओलीलाई ‘म मरे जोगी राजा’ भन्ने उखानको चरितार्थ गर्दै सम्पूर्ण उपलव्धि तहस नहस पारेको बताए ।
उनले प्रचण्ड र आफूबीचको सहमतिको मुल कुरा कम्युनिस्ट आन्दोलनको विचार, नीति, विधि र पद्दतिलाई समातेर अघि बढ्ने र लोकतन्त्रको जग बलियो बनाउने भएको बताए । ‘कम्युनिस्ट आन्दोलन र लोकतन्त्र एउटै सिक्काका दुई पाटा हुन’, नेता नेपालको भनाइ छ । आफूहरुबीच कमिटी प्रणाली र विधिका साथै आपसी विश्वास कायम गर्दै अघि बढ्ने नेपालले बताए ।
उनले ओली जाली झेली प्रवृत्तिको भएको भन्दै अरुलाई पनि उनले त्यस्तै देख्ने गरेको बताए । उनले नेकपाको सम्पत्तिका बारेमा बोल्दै जतिपनि पार्टी कार्यालय छन् ती सबै आफ्नै पार्टीको बताए । उनले अरु सम्पत्ति आफूहरुलाई नचाहिने पनि बताए । यसअघि ओलीले प्रचण्डसँग लागेपछि पूर्वएमालेको सम्पत्तिमा नेपालले दावी गर्न नमिल्ने बताएका थिए ।
Comments are closed.