रौतहट, १२ पुष । रौतहटको चन्द्रनिगाहपुरमा एउटै नम्बर प्लेटको २ वटा गाडी भेटिएको छ । जिल्लाको चन्द्रनिगाहपुर चोकमा कुमारी बैंक अगाडि रोकिराखेको अवस्थामा बा१७च ९३६५ नम्बरको स्कोरपियो गाडी फेला परेको हो ।
दुई वटा गाडीमध्ये एउटा सेतो रंगको र अर्को सिल्भर रंगको रहेको छ । एउटै नम्बरको दुई वटा गाडी देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले दुवै गाडीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेम शाहीले जानकारी दिए ।
सो मध्ये सिल्भर रंगको गाडीको विलबुक तथा कागजात साथमा रहेको तर सेतो रंगकोे गाडीको केहीपनि कागजात फेला नपरेको र चालक पनि फरार रहेको प्रहरी उपरीक्षक शाहीले बताए ।
सेतो गाडी लक रहेको अवस्थामा प्रहरीले गाडी मिस्त्रीको सहायताले लक खोलेर इलाका प्रहरी कार्यालयमा ल्याएको थियो । सिल्भर रंगको गाडी सर्लाहीको बागमतीमा रहेको टि–गार्डेन रिर्सोटको नाममा रहेको रिसोर्टका कर्मचारी रोशन लामाले बताए ।
आफूहरुले काम विशेषले सो गाडी लिएर चन्द्रनिगाहपुरमा आउँदा आफ्नो गाडीको नम्बर प्लेटकै अर्को गाडी पनि फेला परेको लामाले बताए ।
अर्को गाडीको बारेमा थप अनुसन्धान भइरहेको र सो गाडी भारतबाट चोरी गरेर ल्याएर नेपाली नम्बर प्लेट हालेर चलाइरहेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
रौतहटका विभिन्न स्थानहरुमा भारतबाट चोरीको गाडी ल्याएर नेपाली नम्बर प्लेट राखेर चढ्ने गरेको पाइएकोले प्रहरीले चेकिङ्गमा जोड दिनुपर्ने स्थानीयहरुको भनाइ छ । स्रोत न्युज २४ ।
Comments are closed.