काठमाडौँ, । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले अर्गानिक (जैविक) खेती प्रणालीलाई प्रोत्साहन हुने खालका कार्यक्रम बनाउन कर्मचारीलाई निर्देशन दिएकी छन् ।
मन्त्रालयको कार्यभार सम्हालेसँगै मातहतका निकायको जानकारी लिने क्रममा आज कृषि विभाग र पशु सेवा विभागमा पुगेर मन्त्री अर्यालले रासायनिक मलको प्रयोग पूर्णरुपमा बन्द गर्न सक्ने अवस्था अहिले नै नभए पनि यसलाई विस्तारै कम गर्दै लैजानुपर्ने बताइन् ।
“अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गर्नुपर्छ, रासायनिक मलको प्रयोग अहिले भर्खरै बन्द गर्ने अवस्था छैन”, उनले भनिन्, “तर अब प्राङ्गारिक मलमा जोड दिउँ, रासायनिक मलको प्रयोगमा न्यूनीकरण गर्न प्राङ्गारिक मलको उत्पादन र प्रयोग वृद्धि गर्दै लैजाऔँ ।”
चक्लाबन्दी खेती प्रणाली कार्यक्रम जनस्तरबाट शुरु हुनुपर्ने उल्लेख गर्दै उनले तलबाट नै किसानलाई प्रेरित गर्ने गरी कार्यक्रम बनाउनुपर्ने र कृषकले कृषि कर्म गर्नका निम्ति मल, बीउ, बेर्ना पाउन सकेनन् भन्ने समस्याको अन्त्य गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिइन् ।
“हाम्रा अनुदानले कति प्रतिफल प्राप्त भएको छ, त्यसको लेखाजोखा गर्नुस”, मन्त्री अर्यालले भनिन्, “अनुदानका कार्यक्रमलाई पुनः विचार गरौँ, यही तरिकाले अनुदान प्रभावकारी हुन सक्दैन ।”
अनुगमन नतिजालाई हेरेर काम अगाडी बढाउदै भोली कसैले प्रश्न गर्न नसक्ने गरी अनुगमन गर्न उहाँले कर्मचारीलाई निर्देशन दिइन् । उनले भनिन्, “विकृति नआउनेगरी काम गर्नुहोला, स्वस्थ अनुगमन प्रणाली विकास गर्नुस्, वार्षिक कार्यक्रममा केन्द्रित हुदै तथ्यमा आधारित भएर काम गर्नुस् ।”
Comments are closed.