प्रचण्डमाथि कटाक्ष नै कटाक्ष छोरीबुहारीवाला पार्टी होइन, दस सिट ल्याएर देखाउनुस् : प्रधानमन्त्री केपी ओली
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि परिवारवादको आरोप लगाएका छन् । धनगढीमा नेकपाको आफ्नो समूहको सभामा बोल्दै ओलीले प्रचण्ड छोरीबुहारी र आफन्तलाई पद र शक्तिमा लान केन्द्रित भएको आरोप लगाएका हुन् ।
तेस्तै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई दस सिट ल्याएर देखाउन चुनौती दिएका छन् । पार्टी विभाजन भएपछि पहिलोपटक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्न सुदूरपश्चिम प्रदेशको धनगढी पुगेका प्रधानमन्त्रीले आफूले नेतृत्व गरेको नेकपा छोरी, बुहारी, सम्धीको पार्टी नभएको बताए । उनले प्रचण्डलाई कटाक्ष गरेका थिए ।
‘जसलाई छोरीहरु र बुहारीहरुको मतलब छ, जनताको मतलब छैन,’ ओलीले प्रचण्डप्रति संकेत गर्दै भने, ‘ध्यान कता छः छोरी बुहारी, भाई भतिजा, आफन्त, भाञ्जो, साली, नाति ।’ उनले आफ्नो पार्टी सम्धीवाला, छोरीबुहारीवाला र भाइभतिजावाला पार्टी नभएको दाबी गरे ।
प्रचण्डले छोरी रेणु दाहाललाई मेयर र बुहारी विना मगरलाई मन्त्री बनाएको घटनातर्फ ओलीले पटक पटक संकेत गरे । उनले माधव नेपालले पनि आफन्तलाई पदमा पुर्याएको संकेत गरे । उनले आफू सरकारको नेतृत्वमा भए पनि कोही एकजना आफन्तलाई कतै नियुक्ति नदिएको बताए ।
उनले ५० वर्षअघि देखि नै एकता–एकीकरणको अभियानको थालनी गरेको बताए । प्रचण्डलाई पनि काम लाग्छ कि भनेर पार्टीमा ल्याएको र ‘लाटोकोसेराले घाम लागेको बेला देख्न नसके’जस्तै सरकारले काम थालेको देख्न नसकेको टिप्पणी गरेका हुन् ।
Comments are closed.