काठमाडौ । उपभोक्तालाई सही र तथ्यपूर्ण सूचना दिँदै बिजुली प्रवाहलाई थप व्यवस्थित बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।
सोमबार भएको छलफलमा पछिल्ला दिनमा अकारण बिजुली काटिएको गुनासो बढेपछि प्रधानमन्त्री कार्यालयले उपभोक्तालाई केन्द्रमा राखेर अपनाउनुपर्ने सबै उपाय अवलम्बन गर्न तथा जायज गुनासो र माग सम्बोधन गर्न निर्देशन दिएको हो । प्राविधिक वा मनोवैज्ञानिक रुपमा देखापरेका समस्याको जाँचपड्ताल गर्न आग्रह गर्दै कार्यालयले कुनै पनि बहानामा उपभोक्ताले समस्या भोग्नु नपर्ने वातावरण बनाउन आग्रह गरेको छ ।
प्राधिकरणले विद्युतभार कटौती इतिहास भएको र पुनः नदोहारिने बताइरहँदा पनि उपभोक्ताले त्यसलाई आत्मसात् गर्न नसकेपछि प्रधानमन्त्री कार्यालयले छलफल गरेको हो । छलफलमा प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलिया, प्रधानमन्त्री कार्यालयका सचिव तोयनारायण ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलगायत सहभागी थिए ।
त्यस्तै प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र प्राधिकरणको काठमाडौँ उपत्यकाका १० वितरण केन्द्रका प्रमुखको पनि सहभागिता रहेको थियो । छलफलमा प्राधिकरणका पदाधिकारीले भने विद्युतमा देखिएको समस्या समाधानका लागि पहल भैरहेको जनाएका छन ।
सडक विस्तार, खानेपानीको पाइप जडान, विद्युत्का खम्बा सार्न, ट्रान्सफर्मर बदल्न, वितरण प्रणालीेको मर्मत सम्भारलगायत काम गर्न विद्युत् आपूर्ति बन्द गर्ने क्रम पनि घटेको प्राधिकरणको भनाइ छ । स्रोत एभीन्युज
Comments are closed.