फाल्गुन १९, भूकम्पले क्षति पुर्याएपछि पुर्निर्माणको तयारीमा रहेको ऐतिहासिक गोरखा दरवारको काम रोकिएको छ । दरबार जगको पूर्वपट्टि जमिनमा छिद्र भेटिएपछि खन्ने काम रोकिएको हो ।
गोरखा दरबार हेरचाह अड्डाका अनुसार जग कमजोर भेटिएपछि तत्कालका लागि खन्ने काम स्थगन गरिएको छ । विज्ञसहितको प्राविधिक टोलीले स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार पार्ने काम गरिरहेको अड्डाका प्रमुख हरिप्रसाद भुसालले बताए । ‘प्रतिवेदनलाई आधार मानेर कसरी पुनर्निर्माण गर्ने भन्ने निक्र्योल गर्छौं,’ उनले भने । विसं १८८६ मा तत्कालीन राजा राम शाहको पालामा बनेको दरबारलाई ०७२ वैशाख १२ को भूकम्पले क्षति पुर्याएपछि पुनर्निर्माण गर्न लागिएको हो ।
पुरातत्त्व विभागका प्राविधिक र विज्ञसहितको टोलीले हाल प्रतिवेदन तयार पार्दैछ । एक साताभित्र प्रतिवेदन तयार पारेर विभागलाई बुझाउने पुरातत्त्व विभागकी परियोजना प्रमुख मञ्जुसिं भण्डारीले बताइन् । ‘गोरखनाथ गुफातर्फ दरबारको जगलाई ९० सालको भूकम्पले पनि असर पुर्याएको पायौं,’ उनले भनिन्, ‘भूकम्पले पनि त्यहि क्षेत्रमा बढी नै क्षति पुर्याएको हाम्रो अनुमान हो ।’ आपतकालीन उत्खनन, माटो परीक्षण र भूगर्भविद्को अध्ययनबाट पूर्वतर्फको जमिन कमजोर भेटिएको उनले बताइन् । ‘विज्ञ र प्राविधिकको रिपोर्ट आएको छैन,’ उनले भनिन्, ‘सबै रिपोर्ट तयार भएपछि पुरातत्त्व विभागमा पेस गर्छौं ।’ अध्यययन प्रतिवेदन पश्चात् जग राख्ने काम सुरु हुने हेरचाह अड्डाले जनाएको छ ।
जगको काम रोकिए पनि सामग्री ओसारपसारको काम नरोकिएको हेरचाह अड्डाका प्रमुख भुसालले बताए । ‘फागुन ७ बाट जग खन्ने काम रोकेका हौं, निर्माण सामग्री ल्याउने काम जारी छ,’ उनले भने, ‘अवस्था र निर्देशन अनुसार छिटै काम फेरि थाल्छौं ।’ पुनर्निर्माणका लागि गत पुस २ बाट दरबार भत्काउन सुरु गरिएको थियो । ४ करोड ३७ लाख रुपैयाँको लागतमा दुई वर्षभित्र दरबार पुनर्निर्माण सक्ने लक्ष्य लिइएको छ । बलियो र वर्षौं टिक्नेगरी दरबारको पुनर्निर्माण हुने भुसालको भनाइ छ । ‘भूकम्पले क्षति पुगेको सम्पदा जगसम्म हेर्न पाउने अवसर पनि भयो,’ उनले भने, ‘अब मजबुत गरी पुनर्निर्माण कसरी गर्न सकिन्छ, पुर्खाले छाडेर गएको चिनो त्यही रूपमा देखाउन सम्भव भएसम्मको प्रविधि अपनाउँछौं ।’
दरबार पुरानै स्वरूपमा पुनर्निर्माण गर्न लागिएको हो । पुनर्निर्माणको क्रममा अहिलेकै काठपात र इँटाहरू प्रयोग हुने भुसालले बताए । अहिलेकै काष्ठकलाका सामग्री र इँटा पुनर्निर्माणको क्रममा प्रयोग गर्न सुरक्षित स्थानमा राखिएको छ । उक्त दरबारबाट विसं १६८६ शाहवंशीय राजा राम शाहदेखि पृथ्वीनारायाणसम्म सात पुस्ताले शासन गरेको इतिहासमा
उल्लेख छ । इकान्तिपुर
Comments are closed.