काठमाडौँ – वरिष्ठ अधिवक्ता एवम् राष्ट्रियसभा सदस्य रामनारायण विडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् फेस गर्न नसकेपछि प्रतिनिधिसभा विघटन गरेर भाग्न खोजेको बताएका छन्। प्रतिनिधिसभा विघटनबारे संवैधानिक इजलासमा जारी सुनुवाईका क्रममा शुक्रबार बहस गर्दै विडारीले संसदबाट भाग्ने प्रधानमन्त्री ओलीलाई हुतिहारा प्रधानमन्त्रीका संज्ञा दिएका हुन्।
प्रभानमन्त्री ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा भंग गरेको भन्दै विडारीले भने, ‘प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले प्रधानमन्त्रीलाई दिएको छैन, ओली संसद फेस गर्न नसकेपछि भाग्ने हुतिहारा प्रधानमन्त्री हुन्।’
प्रधानमन्त्रीलाई हुतिहारा भनेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले विडारीलाई रोक्न खोज्दै भनेका थिए, ‘वरिष्ठ ज्यू यति अपशब्द त प्रयोग नगरौँ न।’
विडारीले संविधानको मस्यौदा देखि निर्माणको सबै प्रक्रियामा आफूले भाग लिएको भन्दै प्रधानमन्त्रीलाई विघटनको अधिकार दिने गरी कहीँ कतै छलफल समेत नभएको बताए। उनले प्रश्न गरे, ‘संसदमा सपथ खाएको मान्छेले संविधान नमान्ने?’
केपी ओलीलाई अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री पार्टीले बनाएको जिकिर गर्दै उनले ती प्रक्रियाहरु संविधान अनुसार नै गरिएकाले अहिले प्रधानमन्त्रीले ‘संविधान मान्दिनँ’ भन्न नमिल्ने बताए। उनले संविधानको मस्यौदाको क्रममा ८९ ९१० मा भएको व्यवस्था अहिले धारा ७६ ९७० मा रहेको बताए। अहिले वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गरिरहेका छन्।
Comments are closed.