Nepal's First Video FM

अन्तिमपटक भिरकट्यामा देखिएकी थिइन् भागरथी

345

बलात्कारपछि हत्या गरिएकी भागरथी भट्ट अन्तिमपटक खोचलेक बजारनजिकै रहेको भिरकट्यामा देखिएकी थिइन्। कक्षा १२ मा पढ्ने उनी माघ २१ गते सनतान धर्म माविबाट पौने २ बजे घरतिर लागेकी थिइन्। सँगै आएका साथीमध्ये चडेपानीकै भानदेव भट्ट खोचलेक बजारमा कपाल काट्न भन्दै सैलुनतिर गए। भागरथी बाटामा पर्ने एउटा पसलमा चाउचाउ किनेर बाँकी साथीसँगै भिरकट्या पुगिन्। त्यहाँ चाउचाउ खाइसकेपछि त्यहाँबाट अरू छुट्टिए। भिरकट्यामा बसेर उनले चाउचाउ खाएकोसम्म देखेको स्थानीयले बताएका छन्। त्यसपछि भने उनलाई देख्ने कोही नभेटिएको जनाइएको छ।

भिरकट्याबाट हत्या भएको ठाउँसम्म भागरथी कसरी पुगिन् भन्ने अझै खुलिसकेको छैन। अपराधीले अपहरण गरेर बलात्कारपछि हत्या गरेको हो वा अपराधीले पिछा गर्दै जंगलनजिक बाटोबाट तल लगेर बलात्कार हत्या गरेको हो भन्ने प्रश्न अझै अनुत्तरित छन्। करिब डेढ साताको अनुसन्धानमा प्रहरीले पनि यही पाटो खोजिरहेको छ। नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रवक्ता वरिष्ठ प्रहरी उपरिक्षक मुकेश सिंहले दोषी पक्राउ परेपछि मात्र यी सबै कुरा खुल्ने बताए। ‘हामीले केही व्यक्तिलाई निगरानीमा राखेका छौं,’ उनले भने, ‘तथ्य र प्रमाणबाट पुष्टि गरेर तिनीहरू पक्राउ परेपछि सबै कथा खुल्नेछ।’

भिरकट्याबाट उकालो हिँडेर डाँडामा पुगेपछि सुरु हुने कच्ची बाटो हुँदै भागरथीको घर भएको चडेपानी गाउँ पुगिन्छ। बीचमा सिल्ल गाउँ पर्छ। त्यसपछि घटनास्थल लबलेक सामुदायिक वन आउँछ। मान्छे ओहोरदोहोर भइरहने यो बाटोमा भागरथीलाई देख्ने प्रत्यक्षदर्शी भेटिएका छैनन्। ‘भिरकट्यापछि बहिनीलाई देख्ने कोही भेटिएको छैन,’ भागरथीकी दिदी पार्वतीले भनिन्, ‘त्यहीँबाट अपहरण गरेर बलात्कार र हत्या गरेको भन्ने आशंका पनि छ।’

माघ २१ गते विद्यालयबाट घर फर्कंदा भरिकट्यामा देखिएपछि सम्पर्कविहीन भएकी भागरथी दोस्रो दिन साँझ ५ बजे मृत अवस्थामा भेटिएकी थिइन्। बुधबार करिब पौने ३ बजेतिर भागरथीको मोबाइल स्विच अफ भएको प्रहरीले बताएको छ। शव फेला परेकै स्थानमा बलात्कारपछि भागरथीको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ। कच्ची बाटोबाट भागरथीलाई घिसार्दै करिब ५० मिटर तल लगेको प्रहरीको भनाइ छ। पोस्टमार्टम रिपोर्टले पनि बलात्कारपछि हत्या भएको देखाएको छ। नागरिक दैनिक स्रोत

You might also like

Comments are closed.