फागुन २२, पश्चिम रोल्पाको माडी गाउँपालिकाको एक सिंगो परिवार नै एचआइभी एड्सबाट संक्रमित भएको प्रमाणित भएपछि उक्त परिवारमा निराशा छाएको छ ।
विसं २०७४ माघ १ गते जन्मिएका नवजात शिशु पनि हिजो सोमबार एचआइभी एड्स संक्रमण भएको प्रतिवेदन आएपछि सिंगो बुढामगर परिवार नै एचआइभी एड्स संक्रमित भएको पत्ता लागेको हो ।
गत माघ महिनामा सुत्केरी हुन जिल्ला अस्पताल प्यूठान पुगेकी ३८ वर्षिया महिलालाई रगत जाँचका क्रममा एचआइभी एड्सबाट संक्रमण भएको पत्ता लागेको थियो ।
श्रीमती एचआइभी एड्स संक्रमित भएको पाइएपछि डाक्टरको सल्लाह बमोजिम श्रीमानको रगत जाँच गर्दा श्रीमानमा पनि एचआइभी एड्सबाट संक्रमित भएको पुष्टि भयो ।
जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका डा. सुशील आचार्यका अनुसार श्रीमान श्रीमती दुबैमा एचआइभी एड्सको संक्रमण देखिएका कारण नवजात शिशु पनि संक्रमित हुन सक्ने भन्दै पी सी आर गर्न नमूना लिइएको थियो ।
डा. आचार्यका अनुसार बच्चाको पी सी आर रिपोर्ट नआउँदासम्मका लागि बच्चालाई एचआइभी एड्सको संक्रमणबाट जोगाउन जन्मेकै दिनदेखि औषधि प्रयोग गरिएको थियो ।
सोमबार शिशु पनि एचआइभी एड्स संक्रमित भएको प्रतिवेदन आएपछि बुढामगर दम्पती छाँगाबाट खसे जस्तै भएको छ । १८ वर्षदेखि भारतको गडवालतिर श्रम गरेर नेपाल फर्किएका ३५ वर्षीय एड्स संक्रमित बुढामगरले एक वर्ष पहिले गाउँकै ३८ वर्षिया युवतीसँग मागी विवाह गरेका थिए ।
उनले विवाह पूर्व वैदेशिक रोजगारीका क्रममा आफ्नो ४ जनासँग असुरक्षित यौन सम्पर्क भएको बताए । श्रीमानले असुरक्षित यौन सम्पर्क राखेका कारण श्रीमती र छोरीमा पनि एचआइभी एड्स संक्रमण भएको हुनसक्ने अनुमान लगाइएको छ ।
आर्थिक संकट सुल्झाउन भन्दै सोमबार रोजगारीका लागि श्रीमान् काठमाडौँ गएपछि श्रीमतीमा थप आशंका तथा निराशा थपिएको छ । हाल जिल्लामा एचआइभी एड्स संक्रमितको संख्या ६५ पुगेको छ ।
जिल्लामा २६ जना महिला र २६ जना पुरुष संक्रमित छन् र १४ जनाको यसअघि मृत्यु भइसकेको छ । रोल्पा प्लसका अध्यक्ष राधा विकका अनुसार संक्रमितहरु ९ देखि ६० वर्ष उमेरभित्रका छन् । अधिकाँश श्रीमान्कै कारण संक्रमित बनेका हुन् ।
Comments are closed, but trackbacks and pingbacks are open.