Nepal's First Video FM

रघुजी पन्तको निकृष्ट अभिव्यक्तिविरुद्ध अदालत जाँदैछु – कोमल वली

609

काठमाडौं । चर्चित गायिका तथा राष्ट्रिय सभाकी सांसद कोमल वलीले रघुजी पन्तबाट आफ्नो चरित्रहत्या प्रयास भएको भन्दै न्यायका लागि अदालत जाने बताएकी छन् ।

हाल दाङमा रहेकी वलीले काठमाडौं फर्कनासाथ प्रहरी र अदालतको ढोका ढक्ढकाउने जानकारी दिइन् ।‘अहिले यो विषयमा सरसल्लाह गरिरहेकी छु, सबैले कानूनी प्रक्रियामा जान सुझाव दिनुभएको छ’।

नेता पन्तको अभिव्यक्ति आफ्नो लागि मात्र नभएर सबै नेपाली महिलाहरुका लागि अपमानजनक रहेको कोमलले बताइन् । राजनीतिमा लागेका महिलालाई हेर्ने दृष्टिकोण यसबाट प्रतिबिम्बित भएको उनको भनाइ छ ।

‘उहाँबाट मैले यस्तो निकृष्ट सोचको कल्पना नै गरेको थिइनँ’ वलीले भनिन्, ‘यसमा म चुप लागेर बसें भने भोलि अरु महिलाहरुले पनि यसैगरी आरोपित बन्नुपर्नेछ । आफूलाई कलाकारितामा दिएको योगदानका लागि पार्टीले सम्मान दिएको वली बताउँछिन् ।

‘विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरू छानेर लैजाने ठाउँ हो राष्ट्रियसभा । कलाकारितामा मेरो योगदान क्षमता हेरेर नै एमालेले मलाई प्रवेश गराएको हो । राष्ट्रियसभा गरिमा र कार्यक्षेत्र नै फरक छ । त्यहाँ मैले अनेकन् मुद्दाहरूमा आवाज उठाएर जिम्मेवारी निभाइरहेकी छु । जनताको पक्षमा बोलिरहेकी छु । सरकारलाई सहयोग पनि गरिरहेकी छु । सबैभन्दा बढी संशोधन प्रस्तावहरू राख्ने सांसदमा पर्छु । उहाँलाई मैले राष्ट्रियसभामा निभाएको भूमिका थाहा छैन होला’, उनले भनिन् ।

आफूले लड्ने कानूनी लडाईंमा प्रचण्ड-नेपाल पक्षका महिला नेतृहरूले पनि साथ दिनुपर्ने वलीको भनाइ छ ।‘उहाँहरूले पनि आवाज उठाउनुपर्छ, किनभने भविष्यमा उहाँहरूले पनि यस्ता आरोप खेप्नुपर्ने हुन सक्छ’, वलीले भनिन् ।
नेता पन्तसँग आफ्नो पहिले राम्रो सम्बन्ध रहेको वलीले उल्लेख गरिन् ।

‘उहाँ प्रधानमन्त्रीको प्रेस सल्लाहकार हुँदादेखि नै चिनेको हो । म उहाँलाई सम्मान गर्थेँ । दाइ भन्थें । तर, मलाई आज एकदमै ठूलो चोट पुर्याउनुभयो’, उनले भनिन् ।

You might also like

Comments are closed.