राजीनामा कुन कोटको खल्तिमा छ : पत्रकार राजेन्द्र? म राजीनामा लेख्दिन, अरु नै बाटा छन् : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन् । हिमालय टेलिभिजनको ‘यक्ष प्रश्न‘’ मा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा प्रचण्ड–माधव पक्षलाई आविश्वास प्रस्ताव ल्याएर देखाउन चुनौती समेत दिए ।
पत्रकार राजेन्द्रले राजीनामा गोजीमै राख्नुभएको छ ? भन्ने प्रश्नमा प्रधानमन्त्रीले राजीनामा नलेख्ने र लेख्न नपर्ने दावी समेत गरे । ‘राजीनामा लेख्दिनँ । राजीनामा लेख्नुपर्ने अवस्था होइन, छैन । मैले अरु पनि बाटा समाउन सक्छु । त्यो अविश्वासको प्रस्ताव पारित गरेर मलाई हटाउने बाटो पनि छ’, प्रधानमन्त्री ओलीको भनाइ छ ।
उनले संसदीय दलमा पनि आफनै बहुमत रहेको भन्दै पोहोर गरेका हस्ताक्षर प्रचण्ड माधव पक्षले अहिले आफुविरुद्ध बिक्री गरेको आरोप लगाए । ‘बहुमत छ भनेर छाति पिट्नु बेग्लै हो । पोहोर गरेका हस्ताक्षर अहिले बिक्री गर्नु बेग्लै कुरा हो’, प्रधानमन्त्री ओलीको भनाई छ । उनले प्रतिनिधिसभा विघटन बदर भएपनि अदालतले राजीनामा देउ नभनेको दावी गरे । ‘मैले राजीनामा गर्ने हो भने अदालतको फैसलाले अस्थिरता निम्त्याएको देखिन्छ’ ओलीको भनाई छ ।
प्रचण्ड संसदीय दलको नेता माइतीघर मण्डलाबाट छानिएको भन्दै ‘बहुमत उहाँसँग छ भने पार्लियामेन्टबाट प्रधानमन्त्री फेरे भैगो नि’भनेर उनले चेतावनी दिए । प्रधानमन्त्रीले आफु उत्तेजनामा गएर कुनै निर्णय नगर्ने पनि बताए । उनले अविश्वास प्रस्ताव आए आफुलाई नेपाली काँग्रेस र जसपाले साथ दिनेमा विश्वस्त रहेको दावी गरे ।
अविश्वास प्रस्ताव असफल पार्ने अंक गणित छ ? भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले ‘नेपाली काँग्रेस, वा मधेसवादी दलले राजनीति गरेको कुनै अमुक र पद नपाएर छट्पटाएका व्यक्तिका लागि पार्टी खोलेको वा राजनीति गरेको हो ?’ भनेर प्रश्न गरे ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेकोमा आफुलाई ग्लानी नभएको भन्दै अस्थिरता मच्चाउन लागेकाले देश बचाउन उक्त कदम चाल्नुपरेको बताए ।
Comments are closed.