Nepal's First Video FM

कति सस्तो ५० रुपैयाँमै सादा खाना, ६० मा मासुभात !

1,523

काठमाडौं । माइली श्रेष्ठ वसन्तपुर आसपास नाङ्लो पसल चलाउँछिन् । उमेरले ७० काटिसक्दा पनि उनलाई तातो पानी तताएर दिने कोही छैन । त्यसैले उनी फुर्सदमा घरमै खाना बनाउँछिन् त कहिले होटेल पुग्छिन् ।

काठमाडौंको भीमसेनस्थान परोपकार स्कुलअगाडिको एक रेस्टुरेन्टमा बाह्रखरीकर्मी पुग्दा उनी पनि त्यहीँ खाना खान पुगेकी थिइन् ।

आफूले थैलीमा राखेको ५० र १० रुपैयाँको नोट झिकिन् र मासु भात अर्डर गरिन् । अर्डर गरेको केही बेरमै थालीमा भात, तरकारी, दाल, अचार, सलाद आइपुग्यो । एक कप चिया र बिस्कुटको मूल्यमा मासुभात खान पाएकामा उनी मख्ख थिइन् । त्यो रेस्टुरेन्टमा उनीजस्तै दैनिक नाङ्ले पसल राखेर आफ्नो गुजारा चलाउने, कालीमाटीमा भारी बोक्नेदेखि विद्यार्थीहरू थिए ।

त्यही एक कुनामा मनबहादुर खत्री पनि खाना खाँदै थिए । उनी विगत १३ वर्षदेखि कालीमाटीमा भारी बोक्ने गर्दारहेछन् । रोल्पाबाट भारी बोक्नै भनेर काठमाडौं छिरेका खत्रीको कहाँ खाना खाने भन्ने टुंगो थिएन । विगत दुई महिनादेखि उनको दैनिक खाना खाने ठाउँ बनेको छ ‘खाना सबैलाई’ रेस्टुरेन्ट ।

कोरोना महामारीले निम्त्याएको आर्थिक संकटबाट दीर्घकालीन राहत स्वरुप लक्षित वर्गलाई न्यून मूल्यमा खाना उपलब्ध गराउने उद्देश्यसाथ आफूहरूले ‘खाना सबैलाई’ रेस्टुरेन्ट सञ्‍चालन गरेको कृष्णहरि भट्टराई बताउँछन् ।

काठमाडौंको भिमसेनस्थानमा ‘खाना सबैलाई‘ गैर-नाफामूलक रेस्टुरेन्ट कृष्णहरि भट्टराई, नवराज मोक्तानलगायत जम्मा पाँचजना सदस्यले स्थापना गरेका हुन् ।

उनीहरूले साधारण मानिस र न्यून आय भएकाहरूलाई भनेर छुट्टाछुट्टै मूल्यसूची बनाएको छन् । न्यून आय भएका अर्थात् उनीहरूको ‘लक्षित वर्ग’का मानिसका लागि सहुलियत दर मात्र ५० रुपैयाँमा सादा खाना सेट (भात, तरकारी, दाल, अचार, सलाद) वा ६० रुपैयाँमा मासुसहित खाना खुवाइन्छ ।

यस्तै लक्षितवर्गभन्दा अरु अर्थात् पैसा तिरेर खान सक्नेले भने मासुसहितको खाना सेटलाई ११० रुपैयाँ र सादालाई १०० रुपैयाँ तिर्नुपर्छ ।

You might also like

Comments are closed.