काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेकपा उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैंसेपाटीस्थित गौतम निवासमा पुगेका छन् ।
विप्पलवलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याए लगत्तै ओली गौतम निवास पुगेका हुन् ।
गौतम घरभित्रै लडेर सामान्य चोपटक लागेको खबर पाएपछि प्रधानमन्त्री ओली स्वास्थ्यस्थिति बुझ्नका लागि गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । गौतमलाई सामान्य चोटपटक लागेको गौतमको पारिवारिक स्रोतले जनाएको छ ।
प्रचण्ड–माधव पक्षले नेकपा विभाजनको कानुनी मान्यताका लागि निर्वाचन आयोगलाई ताकेता गरिरहेका बेला पार्टी एकताको अभियान चलाइरहेका गौतमलाई भेट्न ओली भैंसेपाटी पुग्नुलाई राजनीतिक रुपमा लिन नपर्ने बालुवाटार स्रोतले जनायो ।
भेटमा राजनीतिक कुरा भए पनि यो विशुद्ध पारिवारिक र मानवीय भेटघाट भएको बताइएको छ । ओली र गौतमबीच पारिवारिक रुपमा पनि राम्रो सम्बन्ध छ ।
ओली पार्टी विभाजन नगर्ने पक्षमा छन् । उनले विभाजनको प्रक्रियामा आफू पहिले नजाने बताउँदै आएका छन् । शुक्रबारमात्रै प्रचण्ड-माधव पक्षले ओलीलाई दलको नेताबाट हटाएको घोषणा गर्दै प्रचण्डलाई नेता चयन गरेको छ ।
गौतमले यसबीचमा बालुवाटारमै पुगेर ओलीलाई भेटेका थिए । ओली केही महिना अघि पनि सपरिवार गौतम निवास पुगेका थिए ।
Comments are closed.