Nepal's First Video FM

लहान बिस्फोटका घाइते सेनाको हेलिकप्टरबाट ल्याइयो काठमाडौं

434

सिरहाको बम बिस्फोटमा परी गम्भीर घाइते भएका दिनेशकुमार भण्डारीलाई हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको छ।

उनको थप उपचारको लागि नेपाली सेनको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) शालीग्राम शर्माले जानकारी दिए।

उनको काठमाडौंको कुन अस्पतालमा उपचार गराउन लागेको भन्नेबारे नखुलेको डिएसपीले बताए। दिनेशको तिघ्रा पिठ्यूँसहित शरीरका विभिन्न अंगमा बमको छर्रा लागेको छ।

उनी धनगढीमाई नगरपालिका-१३का स्थानीय हुन्। कार्यालयमा जाँदा बिस्फोटमा परी उनी घाइते भएका थिए।

अन्यको सिरहाकै एक अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्ये दुई जना कर्मचारी पनि छन्। अन्य भने सेवाग्राही हुन्।

घाइते हुनेमा कार्यालयका ३८ वर्षीय नायब सुब्बा शिवकुमार यादव, गोलबजार नगरपालिका-६ की ३५ वर्षीया लक्ष्मी राणा, लहान नगरपालिका-१६का ५२ वर्षीय लालबहादुर बिक, ३५ वर्षीया बेचनी मगर, गोलबजार नगरपालिका-४का ३८ वर्षीय फुलकुमार ठाकुर, भगवानपुर गाउँपालिका-३का ५४ वर्षीय बद्रीनारायण यादव, ७८ वर्षीय लेखापढी व्यवसायी भोलाबहादुर पाचे मगर छन्।

प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले दिएको जानकारीअनुसार बिस्फोटस्थल नजिकै जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ।

गोइतले लामो समयदेखि मधेसमा हिंसात्मक गतिविधि गर्दै आएका छन्। पछिल्लो समय उनको समूहका गतिविधि शुन्यप्राय भएका थिए।

You might also like

Comments are closed.